दमक, भदौ १ । चार दिनअघि झापाको दमकमा कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरुका सम्पर्कमा जोडिएका व्यक्तिहरुको पिसिआर परीक्षणको नुमना संकलन हुन सकेको छैन ।

विद्युत प्राधिकरण दमक वितरण केन्द्रका ५ कर्मचारी र काठमाडौंमा संक्रमण पुष्टि भएका दमकका एक जना तरकारी व्यवसायीको सम्पर्कमा जोडिएका व्यक्तिहरुको पिसिआर परीक्षण अझै हुन नसकेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका मानिसहरुको पहिचान गर्ने काम भईरहेका कारण परीक्षणमा ढिलाई भएको हो । विद्युत कर्मचारीका सम्पर्कमा आउने व्यक्तिहरुको पहिचान गर्ने काम सकिनसकेकाले उनीहरुको परीक्षणका लागि स्वावको नमुना संकलन अझै हुन नसकेको उनले बताएका छन् ।
यता संक्रमितहरुको सम्पर्कमा रहेका परिवार तथा नजिकका आफन्तहरुको समयमै परीक्षणमा ढिलाई हुँदा चिन्तित हुनुपरेको दमक ९ की मुना लिम्बुको गुनासो छ । प्राधिकरणका कर्मचारीको एउटी छोरीको गत साउन २८ गते जन्मदिनको भोज गरिएको र छिमेका कारण उनी आफनो परिवारसंग रातदिन भेटघाट हुने भईरहेका कारणले आफनो परिवारको नै पिसिआर परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।
यतिका दिनसम्म पनि पिसिआर परीक्षण नगर्दा संक्रमितसंगै जोडिएका अन्य परिवारहरु समेत चिन्तित हुनुपरेको उनले बताइन् ।
स्वास्थ्य निरीक्षक बरालले संक्रमित व्यक्तिको पहिचान गर्नका लागि कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको र त्यो काम सकिएपछि आवश्यकताका आधारमा मात्रै पिसिआर परीक्षण गरिने जानकारी दिए ।
कन्ट्याक्ट ट्रेसिङमा संक्रमित व्यक्तिसंग को को मानिसहरु के कति दुरी भित्र , कुन समयमा भेट भएको हो, कस्तो किसिमको उठबस वा सम्पर्क हो जस्ता कुराहरु उल्लेख हुने र त्यसैका आधारमा आवश्यक मानिसहरुको पिसिआर परीक्षण गर्ने गरिन्छ । तरकारी व्यवसायीको सम्पर्कमा जोडिएका व्यक्तिहरुको पहिचान भने भइसकेको निरीक्षक बरालले जानकारी दिए ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा ती संक्रमित व्यवसायीसंग करिब १२ जना जोडिएको तथ्य फेला परेको उनले बताए । काठमाडौंमा उपचाररत ती व्यवसायीको सम्पर्कमा विरामीसंगै काठमाडौं पुगेका र घर परिवारका सदस्यहरु मात्रै रहेको प्रारम्भिक बुझाइ छ । दमकमा हालसम २१ जनामा संक्रमण भएका ब्यक्तिमध्ये १४ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको उपचार भईरहेको क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव समेत रहेका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।
यसैवीच, संक्रमण समुदायमा फैलिएको र थप जोखिम हुन नदिन नगरपालिकाले आइतबारदेखि एकसाता लामो लकडाउन गरेको छ । लकडाउनको दोश्रो दिन दमक चौक,वजार पूर्ण रुपमा ठप्प रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्