झापा भदौ, १ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य गरेको हो । अगस्ट १६ मा इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट प्राप्त नयाँ मूल्य बढेर आएकाले स्थानीय बजारमा पनि मूल्यवृद्धि गरिएको निगम प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए । नयाँ मूल्य समायोजनपछि डिजेल र मटीतेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको प्रवक्ता उपाध्यायको भनाई छ । मूल्य वृद्धि स्वचालित मूल्य समायोजन कार्याविधि अनुसार नै भएको निगमको भनाई छ । मूल्य समायोजन पश्चात पनि भारतीय सीमाभन्दा नेपालमा पेट्रोल प्रतिलिटरमा ३० रुपैयाँ ३१ पैसा र डिजेल ३७ रुपैयाा २७ पैसा सस्तो रहेको निगमले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै निगमले पछिल्लो समय नियमितरुपमा इन्धनको मूल्य बढाएको छ ।साउन १८ गते मात्रै निगमले पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्