झापा , भदौ १ । कोरोना संक्रमणको जोखिम समुदायमा फैलन थालेपछि जिल्लाको थप दुईवटा स्थानीय तहले लकडाउन गर्ने भएका छन् ।

शिवसताक्षी नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले पनि लकडाउन गर्ने निर्णय गरेका हुन् ।
शिवसताक्षी नगरपालिकाको कार्यालयमा आज सम्पन्न बैठकले सोमबार राति १२ बजेदेखि भदौ १० गतेसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो । शिवसताक्षी नगरमा यसअघि नगरस्तरीय समन्वय समितिले साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय गरेको थियो ।
बैठकले खाद्यान्नलगायत अन्य आवश्यकीय वस्तुको खरिदका लागि बिहान आंशिक रुपमा खुकुलो पारिने नगरपालिकाका प्रवक्ता नविन इजमले जानकारी दिए । नगरपालिकाको बन्दाबन्दी अवधिभर सामुदायिक विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ । विद्यालयमा पठनपाठन नभएपनि शिक्षकहरु विद्यालयमा आउने गरेका थिए । लकडाउन अवधिभर औषधि पसलबाहेक अन्य पसलहरू सञ्चालन गरे कारवाही गरिने प्रवक्ता इजमले जानकारी दिएका छन्।
त्यस्तै गौरीगंज गाउँपालिकामा कोरोना संक्रमणलाई समुदायस्तरमा फैलन नदिन भाद्र २ गतेदेखि लागु हुने गरी हप्ताको २ दिन लकडाउन गर्ने निर्णय भएको छ ।
गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकमा हप्ताको २ दिन अर्थात शुक्रवार र शनिवार गौरीगंज क्षेत्र लकडाउन गर्ने निर्णय भएको हो ।
बैठकले भाद्र २ गतेदेखि भाद्र १५ गतेसम्म विहान ७ बजेदेखि दिउँसो १२ बसेसम्म मात्र सवै प्रकारका पसलहरु खोल्न सक्ने निर्णय गरेको छ । साउन २५ गते गाउँपालिकाको कोभिड १९ आपतकालिन कार्य सञ्चालन केन्द्र ( सीसीएमसी)ले गरेको निर्णयलाई केही परिमार्जन गरी औषधि पसलबाहेक शुक्रवार र शनिवार सबै गतिविधि गौरीगंज क्षेत्रमा बन्द रहने गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले बताए । गौरीगंज क्षेत्रभित्र रहेका वैंक, वित्तीय संस्थाहरुको हकमा सामाजिक दुरी कायम गरी सञ्चालन गर्ने र सार्वजनिक यातायातहरु भदौ १५ गतेसम्म बन्द गर्ने समेत निर्णय भएको छ । यसअघि घोषणा गरेका दमक , मेचीनगर , गौरादह,बुद्धशान्तिले लकडाउन जारी राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्