झापा, भदौ ३ । स्थानीय बजारमा सुनको मूल्य बढेर पुन एक लाख रुपैयाँ नाघेको छ । गत साता तोलाको एक लाख नाघेर ओरालो लागेको सुनको मूल्य मंगलबार एकैदिन २ हजार २ सय बढ्दा फेरी एक लाख नाघेको हो ।
सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार एकै दिन तोलामा २२ सय रुपैयाँ बढेर एक लाख ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । पछिल्लो समय उतारचढाव भएको सुनको मूल्य मंगलबार पुन उकालो लागेको महासंघको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।


कोरोनाविरुद्धको खोप रुसमा विकास भएको खबर बाहिरिँदा क्रमश ओरालो लाग्न थालेको सुनचाँदीको मूल्य फेरि उकालो लागेको हो । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य बढेर प्रतिऔंस १ हजार ९ सय ९० डलरमा कारोबार भएको छ । सोमबार १ हजार ९ सय ४३ डलरमा कारोबार भएको थियो । यसैबीच, चाँदी पनि अघिल्लो दिनको तुलनामा ६५ रूपैयाँ बढ्दै मंगलबार प्रतितोला १ हजार ३ सय ८० रूपैयाँ भएको छ । सोमबार १ हजार ३ सय १५ र आइतबार १ हजार ३ सय २५ रूपैयाँ प्रतितोला भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्