झापा भदौ, ३ । दैनिक संक्रमितको संख्या वृद्धि भइरहेको, एक घर एक सदस्यको परीक्षण हुनु पर्ने, पिसिआर परीक्षणको दायारा बढाउनु पर्ने लगायत आवज घनिभूत भइरहेको बेला प्रदेश–१ सरकारले प्राथमिकीकरणको अवधारणा अघि सारेको छ ।
पिसिआर परीक्षण गराउनेको संख्या दैनिक बढ्दै गए पछि प्रदेश– १ सरकारले परीक्षणका लागि प्राथमिकीकरणको अवधारणा अघि सारेको हो । प्रदेश सरकारको यस्तो रणनीतिले सर्वसाधारण थप मर्कामा पर्ने अवस्था सिर्जना भएको छ । पिसिआर परीक्षण गर्न पाउने अधिकारबाट नागरिक बञ्चित हुने पक्का भएको सरोकारवालाहरु बताउँछन् ।


सरकारले जारी गरेको प्राथमिकीकरणका आधारमा मात्रै पिसिआर परीक्षण गराउन प्रदेश– १का सबै जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानीय तह र जिल्ला समन्वय समितिलाई सामाजिक विकास मन्त्रालयले पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रीस्तरीय निर्णयबाट साउन ३२ गते जारी गरेको प्राथमिकीकरण पत्रमा ८ प्रकारका व्यक्तिको मात्रै पिसिआर परीक्षण गरिने उल्लेख छ ।
अब पिसिआर गर्न निम्न व्यक्तिले मात्रै पाउने मन्त्रालयद्वारा जारी परिपत्रमा लेखिएको छ । मन्त्रालयले जारी गरेको पत्रअनुसार सघन उपचार कक्षमा उपचार भइरहेका वा सिकिस्त बिरामी व्यक्ति, कोभिड–१९ को जस्तै लक्षण भइ शंकास्पद कारणले मृत्यु भएका व्यक्ति, चिकित्सकको सल्लाह बमोजिम लक्षण देखिएका व्यक्ति, कुनै किसिमको शल्यक्रिया गर्नु पर्ने व्यक्ति हुनु पर्ने छ ।
त्यसैगरी संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका परिवारका सदस्य न्यूनतम पाँच दिन होम आइसोलेशनमा बसे पछि, संक्रमितसँग १५ मिनेटभन्दा बढी एक मिटर दुरी कायम नगरी प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति न्यूनतम पाँच दिन होम आइसोलेसनमा बसे पछि, बिदेशबाट आएर न्यूनतम पाँच दिन आइसोलेशनमा बसेका व्यक्ति र कोभिड– १९ संक्रमण व्यवस्थापनका लागि फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षकर्मी तथा अन्य कर्मचारीहरु हुनु पर्ने छ ।
यस बाहेकका व्यक्तिको अब पिसिआर परीक्षण नहुने भएको छ । प्रदेशका प्रयोगशालाको क्षमता भन्दा बढी पिसिआर परीक्षणका लागि नमूना संकलन हुन थाले पछि प्रदेश सरकारले पिसिआर परीक्षणका लागि प्राथमिकीकरण तोकेको हो । प्रदेश– १ का चार वटा प्रयोगशालामा २४ घण्टामा बढीमा दुई हजार दुई सय नमूना परीक्षण हुन्छ । तर, दैनिक तीन हजार पाँचसम्म पिसिआर परीक्षणका लागि नमूना संकलन भइरहेकाले प्राथमिकीकारण गर्नु परेको प्रदेश सरकारको भनाइ छ । परीक्षणको नतिजा आउन ढिलाइ भइरहेको छ बहाना देखाएर सरकार पन्छन खोजेको सर्वसाधारण बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्