गौरीगञ्ज , भदौ ४ । समुदायका एक ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि झापाको गौरीगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

गौरीगञ्ज ६ का ३० वर्षिय पुरुषमा बिहीबार संक्रमण पुष्टि भएको हो । समुदायका ब्यक्तिमा संक्रमण देखिएपछि ती संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि आज रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि वडा नं ३ , ४ , ५ र ६ मा निषेधाज्ञा लगाइएको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । निषेधाज्ञामा अत्याबश्यक औषधि पसल , दूध डेरी विहान ७ देखि ९ बजेसम्म खुला राख्न दिने र त्यसबाहेक सबै कारोबार , कार्यालय र आवतजावत बन्द रहने गाउँपालिकाद्वारा जारी सूचनामा जनाइएको छ । संक्रमित ब्यक्तिको गौरीगञ्ज बजारमा रुवि डिपार्टमेन्ट स्टोर रहेको छ । त्यस क्षेत्रकै सो ठूलो डिपार्टमेन्ट स्टोरमा १० भन्दा बढी कामदार कार्यरत छन् । संक्रमित ब्यक्तिसँग ३०० जना जतिको सम्पर्क भएको हुनसक्ने आशंका गरिएको छ । गाउँपालिकाले सूचना जारी गरी सात दिनयता त्यस डिपार्टमेन्ट स्टोरमा आएका सम्पूर्ण सेवाग्राहीहरुलाई सम्पर्क गरी कन्ट्याक्ट ट्रेसिङमा सहभागी हुन सूचित गरेको छ । मुख्य बजारकै डिपार्टमेन्ट स्टोर भएको र त्यसको छेउमा वाणिज्य संघ रहेकाले धेरै जनाको सम्पर्क ती संक्रमित व्यापारीसँग भएको हुनसक्ने जनाइएको छ ।
त्यस्तै बुद्धशान्ति गाउँपालिकाले भदौ ९ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । साउन २९ गतेदेखि बिहीबार राति १२ बजेसम्म लकडाउन गरिएकोमा पुनः दोस्रो चरणमा लकडाउनको समयावधि थप गरिएको हो ।
बिहीवार बसेको गाउँ कार्यपालिकाको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए । साउन २७ गते बुद्धशान्तिमा ८१ जनाको पिसिआर टेष्टका लागि स्वाव संकलन गरी पठाइएकोमा ८० जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।त्यसमध्ये जीवन विकास लघु वित्त संस्थामा काम गर्ने कर्मचारीको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्