झापा , भदौ ५ । झापामा समुदायमा कोरोना संक्रमण फैलिदै गएको अबस्थामा जिल्लाका पाँचवटा पालिकाहरुमा निषेधाज्ञा लगाइएको छ ।

समुदायमा संक्रमण फैलिसकेको जिल्लाको दमक , मेचीनगर ,कमल ,गौरीगञ्ज र बुद्धशान्ति गाउँपालिकमा निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँचवटा स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको जनाएको छ । दमक र मेचीनगर नगरपालिका , कमल , गौरीगञ्ज र बुद्धशान्ति गाउँपालिकाले अनुमति मागेपछि ती पालिकाहरुमा निषेधाज्ञा लागू गर्नेगरी आदेश दिइएको कार्यवाहक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । उनले दमक नगरपालिकाको सवै वडा , मेचीनगर नगरपालिकाको ७ , ८ र ९ ,कमल गाउँपालिकाको ३ नं वडा , गौरीगञ्ज गाउँपालिकाको वडा नं ३ , ४ , ५ र ६ तथा बुद्धशान्ति गाउँपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयहरुलाई जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गर्न सरकारले निर्देशन दिएको छ ।सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको कार्यवाहक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनले संक्रमण ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको जनाए । ‘लकडाउन र निषेधाज्ञामा केही फरक छ’ उनले भने , ‘ निश्चित समय र क्षेत्रका लागि लगाइने निषेधाज्ञा हो ।’ दमक नगरपालिकाभरि साउन ३२ गतेदेखि निषेधाज्ञा जारी रहेको छ । त्यस्तै मेचीनगर नगरपालिकाले बिहीबारदेखि नगरभरिको निषेधाज्ञा हटाएर वडा न. ७ , ८ र ९ मा मात्र कायम राखेको छ ।
त्यस्तै कमल गाउँपालिकाको वडा नम्वर ३ केर्खा बजारमा पहिलोपटक समुदायमा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाले बुधबारदेखि वडाको तीनवटा टोलमा निषेधाज्ञा लगाएको छ । केर्खा बजार , फाल्गुनन्द टोल र शान्ति टोलमा निषेधाज्ञा लगाइएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् । त्यस्तै समुदायका एक ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि झापाको गौरीगञ्ज गाउँपालिकामा बिहीबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।
गौरीगञ्ज ६ का ३० वर्षिय पुरुषमा बिहीबार संक्रमण पुष्टि भएको हो । समुदायका ब्यक्तिमा संक्रमण देखिएपछि ती संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि बिहीबार रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि वडा नं ३ , ४ , ५ र ६ मा निषेधाज्ञा लगाइएको हो । त्यस्तै बुद्धशान्ति गाउँपालिकाले भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ । साउन २९ गतेदेखि बिहीबार राति १२ बजेसम्म जारी गरिएकोमा पुनः दोस्रो चरणमा निषेधाज्ञाको समयावधि थप गरिएको हो । यता कनकाई नगरपालिकामा लकडाउन नगरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए । उनले बिहान ९ बजेदेखि २ बजेसम्म पसल खोल्ने समय तोकिएकोमा त्यसलाई परिवर्तन गरी बिहान १० देखि ३ बजेसम्म सारिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्