झापा, भदौ ६ । अर्जुनधारा नगरपालिका २ मा रहेको गोयाङ खोलाबाट असारभरि ढुंगा निकाल्ने काम भयो । साउन महिनामा पनि त्यसरी नै उत्खनन् गरियो । कोरोना भाइरसको महामारीमा नदीजन्य वस्तुको उत्खनन् रोक्न सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका अन्य नदी र खोलाहरुबाट समेत राज्यको नियमविपरित बर्षायाममा समेत उत्खनन् कार्य जारी छ ।

गोयाङ खोलामा भइरहेको उत्खनन्

संघीय र प्रदेश सरकारले असारदेखि भदौसम्म नदी उत्खनन् रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपनि नदीजन्य वस्तुको उत्खनन् नरोकिएको हो । अर्जुनधारा नगरपालिका २ स्थित गोयाङ खोलामा दैनिक रुपमा उत्खनन भइरहेको जानकारी स्थानीयले सम्बन्धित नगरपालिकालाई पटकपटक गराएका थिए ।तर, नगरपालिकाले त्यति धेरै चासो नदिएको उनीहरु बताउँछन् । कोरोना भाइरसको महामारीका कारण अनुगमन गर्न नसक्दा खोला नदीबाट अबैध उत्खनन् भइरहेको स्थानीय निकायका प्रमुखहरु स्वीकार गर्छन् । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले नगरभित्रका खोलाहरुमा उत्खनन् भए–नभएको हेर्न नभ्याएको बताए । उनले उत्खनन् भएको खबर आएपछि प्रहरीलाई खबर गर्ने गरेको जानकारी दिए । जिल्ला समन्वय समितिले वर्षायाममा नदीजन्य वस्तुको उत्खनन भए–नभएको अनुगमन गर्ने गरेको छ । तर, यस वर्ष समिति अनुगमनमा गएको छैन । अनुगमन गर्ने जिम्मा आफूहरुको हो भन्दै जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले अहिलेसम्म अनुगमनमा नगएको स्वीकारे । उनले स्थानीय पालिकाहरुले त्यसको अनुगमन गर्नुपर्ने भन्दै आफूहरु पनि नियामक निकाय भएको प्रतिक्रिया दिए । कोरोना भाइरसको महामारीको मौका छोपेर खोलाहरुबाट गिट्टी ,ढुंगा बालुवा निकाल्ने कार्य भइरहँदा केही मात्रामा तस्करी रोक्ने प्रयास भएको छ । विभिन्न स्थानीय तहहरुले प्रहरीको सहयोगमा अबैध रुपमा उत्खनन् गर्ने ११० वटा सवारी साधनलाई नियन्त्रणमा लिई जरिवाना तिराएका छन् । जरिवानाबाट ६ लाख १० हजार रुपैयाँ राजश्व असुली भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर नगरपालिकाले ३७ वटा ट्याक्ट्रर र अन्य दुई सवारी साधनबाट २ लाख ७७ हजार ५०० , बुद्धशान्ति गाउँपालिकाले १८ वटा ट्याक्ट्रर र दुईवटा अन्य सवारीबाट १ लाख ३५ हजार, अर्जुनधारा नगरपालिकाले एक ट्रक , ४ टिपर , १३ ट्याक्ट्ररबाट १ लाख ६० हजार , कनकाई नगरपालिकाले ३ टयाक्ट्ररबाट २२ हजार ५०० र भद्रपुर नगरपालिकाले २ ट्याक्ट्ररबाट १५ हजार रुपैयाँ जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्