बिर्तामोड, भदौ ८ । बिर्तामोड– ५ का बादल राजवंशी चीन बसेको १६ वर्ष भयो । पेशाले उनी चिनीया सामानको निर्यातकर्ता हुन् । चिनीया सामान रोज्ने आमनेपाली उपभोक्ताहरुले सुपथ मूल्यमा गुणस्तरीय सामान पाउन नसकेपछि उनले आफै बिर्तामोडमा व्यवसाय शुरु गरेका छन् ।

उपभोक्ताहरुको सेवा सुविधाका लागि बिर्तामोडको सिटी सेन्टरमा उनले आइतबारदेखि लेडीज जंक्सन नामक पसल संचालन गरेका हुन् । खासगरी महिलाहरुलाई लक्षित गरी खोलिएको त्यस पसलमा अन्डर वेयर , नाइट वेयर, स्पोर्टस् वेयरका सामान राखिएका छन् । नेपाली उपभोक्ताहरुको रोजाइ एड्भान्स क्वालिटी र ब्रान्डेड सामान नै हो । त्यही चाहनालाई मध्यनजर गरी उनले अब्बल भेराइटिजका व्यवसाय थालेका हुन् ।‘ अहिले नेपाली उपभोक्ताहरुले खोज्ने भनेको ब्रान्डेड सामान नै हो ’ उनले भने ,‘ चाहे मोजा नै किन नहोस् ।’ आफ्नो पसलमा क्वालिटी र ब्रान्डमा कुनै कम्परमाइज नहुने उनको भनाइ छ ।
एकजना व्यवसायीले कुनै पनि सामानमा १० देखि १५ प्रतिशत मार्जिन राख्नु स्वाभाविक मानिन्छ । तर , चिनीया सामानमा नेपाली व्यवसायीहरुले लिएको नाफा हेरेर छक्क पर्छन् उनी । चीनमा १२०० रुपैयाँ पर्न जाने कुर्सीलाई नेपालमा ३५०० रुपैयाँसम्म बिक्री गरिरहेको उनी बताउँछन् । ‘ १२०० पर्ने कुर्सीलाई धेरै नाफा खाँदा पनि १८०० रुपैयाँमा बेच्नु मनासिव नै होला’ उनले भने ,‘ तर त्यसलाई ३५०० रुपैयाँमा बिक्री गर्नु चाहिँ नेपाली उपभोक्ताहरुलाई सिधै ठग्नु हो ।’ सामानको स्तर चिन्न नसकेका कतिपय नेपाली उपभोक्ताहरुलाई व्यवसायीले महँगो मूल्य लिएर कमसल सामान बिक्री गरिरहेको पनि उनले बताए । त्यही भएर नै निर्यातकर्ता भएर पनि पहिलोपटक आफैले बिक्री केन्द्र खोल्नु परेको उनी सुनाउँछन् ।

साविक धुलाबारी र हाल मेचीनगर नगरपालिकाको वडा नं ११ गजाबारीमा जन्मिएका ३८ वर्षे बादल अहिले बिर्तामोड ५ का बासिन्दा बनेका छन् । राजवंशी परिवारमा जन्मिएपनि केही नयाँ काम थालनी गर्ने सोच लिएर सन् २००५ मा उनी चीन छिरेका थिए । भद्रपुरका व्यापारी ललित अग्रवालसँग चीन गएका बादलले शुरुको तीन वर्ष कार्यालयमा काम गरे । त्यसपछि भारत दिल्लीका व्यापारीसँग साझेदारीमा व्यापार गरेका उनलाई त्यसको प्रगतिप्रति चित्त बुझेन । उनले दुई वर्षमै त्यो साझेदारी व्यवसाय छोडे । सन् २०१० देखि उनले चीनमा आफ्नै व्यवसाय शुरु गरेका छन् । एजेन्टको रुपमा रहेका उनले व्यापारीहरुलाई सामान खोजिदिने , लोड गरिदिने र कोलकातासम्म पु¥याइदिने काम गर्दै आएका छन् । निश्चय नै हाम्रो देशमा सजावट र कस्मेटिकका सामान उत्पादन गर्ने कम्पनी न्यून छ । त्यसैले आयातमा निर्भर हुनुपरेको छ । नेपालमा चीन, भारत, कोरिया, थाइल्यान्ड, अमेरिका, फ्रान्स, जर्मन, दुबई, जापानबाट सौन्दर्यका सामग्री आयात हुने गर्छ । विशेष गरेर चीन र भारतबाट धेरै मात्रामा सौन्दर्यका सामग्री भेटिने गर्छ । बादलले श्रृंगारका सामान , बालबालिकाहरुको खेलौना , चिल्ड्रेन पार्कको सामान, भान्साको सामानजस्ता चिनीया प्रोडक्टहरु निर्यात गर्ने गरेका छन् । चिनीया उत्पादनले विश्व बजारमा वर्चश्व कायम गरेको छ । उनी नेपालमा मात्र नभएर भारत र भुटानमा चिनीया सामानको आपूर्ति गर्छन् । उनले निर्यात गर्ने सामान बढी भारत जाने गरेको छ । ‘ मैले पठाएको ६० प्रतिशत सामान भारत जान्छ ’ बादलले भने ,‘ त्यसबाहेक ३० प्रतिशत नेपाल र १० प्रतिशत सामान भुटान पुग्छ ।’ विश्व बजारमा आधिपत्य जमाउँदै गएको चिनीया सामानको माग दक्षिण एसियाका देशभन्दा युरोपमा बढीे छ । उच्चस्तरका चिनीया सामानहरु भने युरोपमा निर्यात हुने गरेको निर्यातकर्ता बादल बताउँछन् । ‘मेड इन चाइना , आज छ भोलि छैन’ भनेर चिनीया सामानको स्तरीयतामाथि शंका गर्नेलाई उनी महँगो मूल्य चुकाएर स्तरीय सामान किन्न सुझाव दिन्छन् । महँगो चिनीया सामान किन्ने क्षमता आमनेपाली उपभोक्ताहरुले राख्न नसक्ने बादलको ठम्याइ छ ।
पहिलोपटक चीन जाँदा बादललाई एकदमै गाह्रो परेको थियो । भाषा , रहनसहन , कारोबार गर्दा समस्या भोगेका उनलाई अहिले सहज भएको छ । पहिला इशारामा बोल्ने उनी अहिले चिनीया भाषा राम्ररी बोल्न र बुझ्न सक्छन् । चीनमा बाबुल नामले उनी चिनिएका छन् । चीनमा बसेर व्यवसाय गर्न त्यति सजिलो नभएको उनको भोगाइ छ । हरेक वर्ष भिसाका लागि आवेदन दिनु पर्ने, शुरुदेखि नै प्रक्रिया थाल्नु पर्ने जस्ता अप्ठ्याराको सामना गर्नु पर्ने उनी बताउँछन् । विश्वव्यापी महामारीका कारण उनी ८ महिनादेखि नेपालमा छन् । कोरोना संक्रमणले गर्दा नेपालमा लामो बसाइ गर्नु परेका बादलले त्यस अवसरलाई लेडीज जंक्सन खोलेर सदुपयोग गरेका हुन् । त्यसमा आफूलाई श्रीमतीले साथ दिइरहेको उनी बताउँछन् । उपभोक्ताहरुसँग प्रत्यक्ष जोडिएर सेवा दिन थालेका उनले साना व्यवसायीहरुको सहयोगका लागि पनि नयाँ योजना शुरुवात गर्दैछन् । चीनबाट लाखौंको सामान कन्टेनरमा हालेर ल्याउन नसक्ने व्यवसायीहरुका लागि उनले सो योजना बनाएका हुन् । ‘एक्लै एक कन्टेनर सामान किन्न नसक्ने व्यवसायीका लागि यो योजना बनाएका छौं ’ उनले भने , धेरै व्यवसायीलाई मिलाएर उनीहरुको सामान चीनबाट बिर्तामोडसम्म ल्याइदिने छौं ।’ आफै किनेका र किन्न नसक्नेलाई किनिदिएर सामान ल्याइदिने सेवा केही महिनापछि शुरु गर्न लागेको उनले जानकारी दिए । उपभोक्ताहरुको सेवालाई आफ्नो सन्तुष्टि ठान्ने बादल आग्रह गर्छन् ‘ एकपटक आउनुस्, हेर्नुस्, सामान युज गर्नुस् ,मूल्य तुलना गर्नुस् तपाई आफैले थाहा पाउनु हुनेछ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्