झापा, भदौ ९ । नेपालमा अहिले रासायनिक (युरिया) मलको अभावमै किसान धान खेती गर्न बाध्य छन् । समयमा युरिया मल छर्न नपाएपछि आउँदो वर्ष धान उत्पादनमा पनि ह्रास आउने चिन्तामा किसान छन् । धानबालीमा लगाउनुपर्ने युरिया मलको यतिखेर देशैभर हाहाकार भएको छ । धान रोपेको १५ दिनमा युरिया मल छर्नुपर्ने भए पनि नेपालमा यस वर्ष युरिया मलबिना नै धान हुर्कन थालिसकेको छ । धानखेतीको सिजनमा आउनुपर्ने युरिया मल अझै आइपुगेको छैन ।
युरिया मल नआए पनि अहिले आवश्यकता नै नभएको डीएपी मल वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा आइपुगेको छ । सरकारले ल्याएको ५० हजार बोरा यस्तो मल पनि पूर्ण रुपमा भिजेर प्रयोग गर्नै नहुने अवस्थामा छ । आपूर्तिकर्ता स्वीस सिंगापुरले ल्याएको ५० हजार बोरा डीएपी मल सुक्खा बन्दरगाह भन्सार (ड्राईपोर्ट) यार्डमा आइपुगेको हो । भारतीय रेलवेबाट ४३ वेगन (डिब्बा)मा ल्याइएको मल भिजेको अवस्थामा ड्राइपोर्टमा अनलोड गरिएको छ । ५० हजार बोरा आयात गरिएको डीएपी मलमध्ये २५ सयदेखि ४ हजार बोरा मल भिजेको साल्ट ट्रेडिङ वीरगन्जका प्रमुख आमोद लामिछानेले बताए । उनका अनुसार बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण उक्त डीएपी मल भिजेको हो ।

‘बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारणले डीएपी मल भिजेको जानकारी पाएका छौं । आपूर्तिकर्ता स्वीस सिंगापुरसँग पनि कुरा भइसकेको छ, नभिजेको फ्रेस मल मात्रै हामीले रिसिभ गर्ने हो । बाँकी भिजेको र खराब बोराहरूको आपूर्तिकर्ताले नै बेहोर्छ’ उनले भने । लामिछानेका अनुसार नेपालले डलरमा एलसी (प्रतितपत्र) खोलेर ल्याउने भएकोले राष्ट्र बैंकको नियमानुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने हुन्छ । त्यसैले त्यसलाई बीचबाटोमा नै रोक्न मिलेन । नेपालमा आयात गर्न खोलिएको प्रतीतपत्र अनुसारको सामान नेपालमा आयात देखिएन भने विदेशी मुद्रा अपचलन ग(यो भन्ने आरोप लाग्छ । त्यही भएर भिजेको डीएपी वीरगन्ज भित्र्याइएको हो । उनले भने, “एक महिना जति राख्छौं । बोरामा बाहिर र भित्र भिजेको कस्तो अवस्था छ । सबै हेरिसकेपछि राम्रा बोराहरू मात्रै बजारमा पठाउछौं । खराब मल पठाउनु भएन ।” ड्राइपोर्टमा आइपुगेको डीएपी मल भन्सार कार्यालयलाई पनि पास गर्न नैतिक तथा कानुनी रुपमा मिल्ने अवस्था देखिदैन ।

भन्सारको कानून अनुसार कुनैपनि खराब मालवस्तु पास गर्नु हुदैन ।
भन्सार पास गर्नुभन्दा अघि आयातयोग्य छ कि छैन भन्ने पनि हेरिने हुँदा भिजेर खराब भइसकेको डीएपी मल कुनै पनि हालतमा पास नहुने सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताए । उनी भन्छन्, ‘भन्सारको नियमले मिल्दैन । सैद्धान्तिक हिसाबले पनि आयात अयोग्य कुनै पनि सामान पास हुँदैन भिजेर खराब भएको डीएपीको पनि पास नगर्नु भन्ने निर्देशन भइसकेको छ, पास हुँदैन ।’ साल्ट ट्रेडिङले आयात गरेको मल यदि भन्सार पास हुन सकेन भने साल्ट ट्रेडिङलाई करोडौं घाटा हुने सम्भावना देखिएको छ । कृषि विज्ञहरूका अनुसार बजारमा माग भएको युरिया अहिलेसम्म आउन सकेको छैन । सिजन नै नभएको डीएपी मल अहिले आएको छ । अहिले आयात गरिएको डीएपी मल अब हिउँदे बालीलाई मात्रै काम लाग्ने छ । अहिले आवश्यक रहेको युरिया मल भने अझै आउन सकेको छैन । किसानलाई युरिया मल आपूर्ति गर्न नसकेकोमा कृषि मन्त्रालयले भने लिखित रुपमै माफी मागिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्