हल्दिबारी, भदौ ९ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको टक्करका कारण काम गर्न नसक्ने भन्दै हल्दिबारीमा कुनै पनि प्रशासकीय अधिकृत आउन मानेका छैनन् ।

दुवैजनाको घमासान टक्करका कारण टिक्न नसकी प्रमुख प्रशासकीय अधिकृत विजय इङनामले गत साउन २६ गते गाउँपालिका छोडेका थिए । त्यसयता गाउँपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको पद खाली छ । कार्यालयको कामकाज निमित्तले हेर्दै आएका छन् । हल्दिबारी गाउँपालिकाको सातौ गाउँसभाको असार १० गतेको पहिलो बैठकजस्तै साउन २६ गतेको दोस्रो बैठक समेत विवादित बनेको थियो । थप विवादित बनेको दोस्रो बैठककै दिन हल्दिबारीका प्रमुख प्रशासकीय अधिकृत इङनाम रवाना लिएर मोरङको मिक्लाजुङ गएका हुन् । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन र उपाध्यक्ष डम्बरबहादुर गिरीबीचको टकरावका कारण काम गर्न असजिलो भएर सरुवा मिलाएको उनले बताएका थिए । उनको ठाउँमा श्रम मन्त्रालयबाट राजकुमारी खत्री आउने भएकी थिइन् । तर, उनी पनि नआउने भएकी हुन् । त्यहाँबाट सरुवा मिलाइसकेको अबस्थामा हल्दिबारीको विवाद थाहा पाएपछि उनी नआउने भएको एक कर्मचारीले बताए । त्यसपछि गौरीगञ्ज गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत प्रवीण दाहाललाई ल्याउने कुरा चलेको थियो । हप्ता दश दिनअघिदेखि कुरा चलेपनि उनी हल्दिबारी आउने अझै टुंगो भइसकेको छैन । दुवै पक्षबीचको विवाद नमिलेसम्म काम गर्न गाह्रो हुन्छ भनेर सबैजनाले आउन डर मानिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा हल्दिबारी गाउँपालिकाको चालु आर्थिक वर्षको बिकास निर्माणको शुरु नै हुन सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्