अर्जुनधारा , भदौ १० । अर्जुनधारामा हिजो साँझ एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ ।

शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी १६ वर्षिया किशोरीलाई गढीस्थित विरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा बलात्कार गरेका हुन् । अर्जुनधारा १ र ४ मा पर्ने मदनपुरस्थित विरिङ जलाधार क्षेत्रमा धाकधम्की दिएर किशोरीमाथि जबरजस्ती करणी गरिएको बताइएको छ ।अर्जुनधारा ३ स्थित शिविर घर भएकी युवतीलाई बलात्कार गरेको आरोपमा शनिश्चरे प्रहरी चौकीले २ जनालाई पक्राउ गरेको छ । गस्तीमा रहेको टोलीले अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका ३ घर भएका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिका १ घर भएका २४ वर्षीय विक्रम हास्दालाई पक्राउ गरेको हो । उनीहरु टिपर चालक भएको प्रहरीले जनाएको छ ।टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिर आएको थियो । किशोरीको भनाइका आधारमा प्रहरीले बाटोमा फर्किँदै गरेको अवस्थामा आरोपित दुई युवालाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी मुकुन्द रिजालले किशोरीको स्वास्थ्य परीक्षण र घटनामा संलग्नमाथि आवश्यक कार्वाही शुरु गरिएको बताए । पक्राउ परेका युवालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्