शिवसताक्षी , भदौ ११ । झापाको शिवसताक्षीमा रासायनिक मल युरिया लिनका लागि कृषकहरुको भीड लागेको छ ।

विगत ६ महिना अघिदेखि बजारमा अभाव भएको युरिया लिनका लागि कृषकहरु बिहान ५ बजेदेखि शिवसताक्षी ११ स्थित जोरपोखरी कृषि सहकारी संस्थाको पसल अगाडि लामबद्ध लागेका थिए ।
साल्ट ट्रेडिङ कर्पोरेसन बिर्तामोडमार्फत ५० बोरा युरिया मल उपलब्ध भएपछि नगरका ७, ९, १० र ११ वडाका करीब ३ सय बढी कृषकहरु मल लिन उपस्थित भएका थिए । मल लिन आएका कृषकहरुलाई प्रतिव्यक्ति ५ केजीसम्म मात्र उपलब्ध गराउन सकिने संस्थाका सञ्चालक भोजराज ढकालले जनाए ।
कृषकहरु भने कम्तीमा पनि २० केजीसम्म मल पाउने कुरामा अडिग रहेपछि मल बाँड्नमा असहजता भएको थियो । वडा नं. ९ का वडा सदस्य मन बहादुर लिम्बुले अभावका बेला सरकारको यो नौटङ्कीले कृषकहरुमा निराशा पैदा गरेको बताए । उनले भने, ‘कृषकहरुलाई मुख्य समयमा चाहिने युरियाका लागि सरकारले गरेको उदासिनताले भोलि के होला ? त्यो सहजै अनुमान लगाउन सकिन्छ ।’

बिहान ५ बजे नै युरिया लिन पुगेका शिवसताक्षी ९ का पदम बास्कोटा भन्छन् ‘ मेरो डेढ बिगाहा जमिन छ, त्यसमा ५ केजी मलले के गर्नु ? सब्जी बारीलाई नै पुग्दैन । स्थानीय सरकारका जनप्रतिनिधिहरुले हामी कृषकलाई पुग्ने गरी मल दिन्छौं भनी आश्वासन देखाएर भोट मागे । यस्तो बेलामा उनीहरुको व्यवहारले पक्कै चित्त दुखाएको छ । नभएको पनि यो बेला १० केजीसम्म मल उपलब्ध गराए राहत हुन्थ्यो ।’
त्यस्तै, बिहानै मल लिन पुगेका अर्का कृषक जयप्रकाश पौडेलले थोरै मल ल्याएर स्थानीय प्रशासनले झारो टार्ने कार्य गरेकोमा आक्रोश व्यक्त गरेका छन् । उनले ५ किमी टाढाबाट मल लिन आएका कतिपयले रित्तो फर्किनु पर्ने अवस्था देखेपछि हाहाकारका बेला सबैलाई पुग्ने गरी मल उपलब्ध गराउनु पर्ने बताए । उनले भने, ‘मल पाउने अवस्था छैन, कृषकहरुको रुने अवस्था सिर्जना भइसक्यो, कृषिप्रधान देश नामाकरण गरियो, तर कृषकले न त भनेको समयमा मल पाउँछ, न त मल नै । सरकार भन्छ जग्गा बाँझो राख्न पाइदैन, सरकारले समयमै मल दिन सक्छ भने दिइहालोस् नत्र आश्वासनको खेती बन्द गरोस् ।’

साल्ट ट्रेडिङ कर्पोरेसनले मंगलबारदेखि मल वितरण गर्ने भन्ने समाचार प्रकाशित भएपछि शिवसताक्षी क्षेत्रका अधिकांश कृषकहरुले जोरपोखरी कृषि सहकारी संस्थाका सञ्चालक भोजराज ढकाललाई सम्पर्क गरेका थिए । नभन्दै मंगलबार बेलुका युरिया मल पनि आइपुगे । सोही बेला कृषकहरुबीच मल लिनका लागि हानाथाप सिर्जना भएको थियो । बुधबार बिहानदेखि मल वितरण गर्ने भनेपछि एकाबिहानैदेखि त्यस स्थानमा कृषकहरुको घुँइचो बढेको हो ।
यसअघि पनि शिवसताक्षी ४ विश्वडुब्बाका कृषकहरुले बेलैमा मल नपाएको भनी बजार क्षेत्रमा मौन जुलुश लगायत ठाँउठाउँमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्