झापा , भदौ ११ । पीडित पक्षको माग सम्बोधन गर्ने सहमतिपछि झापा गाउँपालिका ३ का रफिक आलमको लाश आफन्तले उठाएका छन् ।

आज प्रमुख जिल्ला अधिकारीको रोहवरमा भएको वार्तामा पीडित पक्षको माग संबोधन गर्ने सहमति भएको हो । मृतक परिवारलाई न्यूनतम १० लाख रुपैयाँ क्षतिपूर्ति दिने , घटनामा दोषी देखिएमा सुरक्षाकर्मीलाई विभागीय कार्वाही गर्ने , किरिया खर्च ५० हजार रुपैयाँ उपलब्ध गराउने , मृतकका छोराछोरीको पठनपाठनका लागि संघीय र प्रदेश सरकारसँग पहल गर्नेलगायतका माग संबोधन गर्ने सहमति भएको हो । विभिन्न ११ वटामध्ये मृतक परिवारले राखेको शहीद घोषणाको माग भने अस्वीकार गरिएको वार्तामा सहभागी नेकपाका नेता रुद्र बजगाईले बताए । घटनाको छानविनका लागि गृह मन्त्रालयले झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सो समितिले घटनाको छानविन गरी सुरक्षाकर्मी दोषी देखिएमा कार्वाहीका लागि सिफारिस गर्ने जनाइएको छ । वार्तामा सबै राजनीतिक दलका प्रतिनिधि , सांसदहरु , गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , मृतक परिवारका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । सहमतिपछि बीएण्डसीबाट लाश उठाई आफन्तले सद्गतिका लागि लिएर गएको नेकपाका बजगाईले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्