झापा भदौ, १७ । कोरोना संक्रमणको कारण देखाउँदै भारतको पश्चिम बंगालको पानीट्यांकी नाकाबाट ५ महीनादेखि अवरुद्ध पेट्रोलियम आयात सुचारु भएको छ । नेपाली ट्यांकरहरूले सिलिगुडी डिपोबाट डिजेल, पेट्रोललगायत इन्धन नेपाल ल्याउन शुरू गरिसकेको मेची भन्सारले बताएको छ ।

पश्चिम बंगाल सरकारले अनिश्चितकालीन पानीट्यांकी नाका बन्दा गरेको ५ महीनापछि मात्र आंशिक खुला भएको हो । आंशिक रूपमा सुचारु भएसँगै भारतीय मालवाहक गाडीलाई काँकडभिट्टा नाकाबाट प्रवेश दिए पनि फर्कन अन्य नाकाको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।
मेचीनाकाबाटै बिहान ८ बजेदेखि बेलुका ५ बजेको समयसीमा तोकेर भारतीय भन्सारले खाली गाडी फर्कन दिइएको छ । पश्चिम बंगाल सरकारले पटकपटक गरी नाका सुचारु गरे पनि सिलिगुडीबाट इन्धन आयात भने हुन सकेको थिएन । मेची भन्सारको राजस्वको स्रोत इन्धन आयात पनि हो । यसबाहेक मेचीनाकाबाट कोइला, क्लिंकर, जिप्सलगायत वस्तु आयात हुँदै आएको छ ।

कोरोना संक्रमणको कारण देखाउँदै पश्चिम बंगाल सरकारले गत चैत २६ देखि पानीट्यांकी नाका बन्द गरेपछि मेचीनाकाबाट हुने आयातनिर्यात ठप्प भएको थियो । त्यसको १ महीना वैशाख २७ गतेबाट आयात खुले पनि निर्यात भने हुन सकेको थिएन । नेपालबाट हुने निर्यात भने ७३ दिनपछि असार ७ बाट मात्रै खुला गरिएको थियो । यसअघि पश्चिम बंगाल प्रहरीले कोरोनाको कारण देखाउँदै मेची पुलमै मालवाहक सवारी रोकेको थियो । मेची भन्सारको राजस्वको लक्ष्य दैनिक ४ करोड भए पनि बन्दाबन्दीका कारण नाका बन्द हुँदा राजस्व संकलन प्रभावित भएको थियो । सूचना अधिकृत अधिकृत भरतराज अधिकारीका अनुसार अहिले राजस्व संकलनमा सुधार आएको छ । दैनिक २ करोड हाराहारी राजस्व संकलन हुन थालेको छ । उक्त राजस्वमा पेट्रोलियमको अंश आधा हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्