शिवसताक्षी , भदौ १९ । लामो प्रतीक्षापछि शिवसताक्षी नगरपालिकाको सतासी खोलामा पुल निर्माण हुने भएको छ ।

शिवसताक्षी नगरपालिकाको ११ , ८ र ७ नं वडाको संगमस्थल सतासी खोलामा पुल बनिने भएपछि स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ । वर्षायाममा आवतजावत गर्न गाह्रो हुने , नगरपालिका कार्यालय घुमेर जानु पर्नेजस्ता समस्या स्थानीयले भोग्दै आएका छन् । पुल नहुँदा निकै समस्या रहेको स्थानीय विष्णुदास राईले बताए । ‘ खोला वारिपारि गर्नदेखि लिएर नगरपालिका र राजमार्ग जान समस्या छ’ उनले भने,‘ हिउँदमा भन्दा बर्खामा झन् समस्या ।’ त्यहाँ पुल नहुँदा शिवसताक्षी नगरपालिकाको १ देखि ८ नं वडासम्मका वासिन्दालाई समस्या रहेको छ । प्रदेश सरकारको ९ करोड ६१ लाख रुपैयाँको लागतमा त्यहाँ पुल बनिने भएको हो । पुलको ठेक्का रन्जना निर्माण सेवा काठमाडौंले पाएको छ । ९९.७ मिटर लम्बाई हुने पुल दुई वर्षमा निर्माण सम्पन्न गर्नु पर्ने संझौता रहेको छ । सो पुलको बिहीबार प्रदेश सांसद झलकसिंह दर्लामी मगरले शिलान्यास गरे । उनले लामो कष्ट झेल्दै आएका स्थानीयले करिव २० वर्षदेखि सो पुलको माग गरेको बताउँदै त्यसको लागि प्रदेश सरकारले बजेट उपलब्ध गराएकोमा धन्यवाद दिए । उनले तोकिएको समयभित्र गुणस्तरीय रुपमा पुल सम्पन्न गर्न आफूसँगै स्थानीय उपभोक्ताहरुले पनि खबरदारी गर्नु पर्ने बताए । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्रकुमार शेर्माले नगरबासीहरुको समस्याप्रति नगरपालिका गंभीर रहेको भन्दै विकसित र समृद्ध नगर निर्माणका लागि सबैको साथ सहयोग आबश्यक रहेको बताए । कार्यक्रममा रन्जना निर्माण सेवाका विनोद पोखरेलले संझौताबमोजिम तोकिएको समयसीमाभित्र गुणस्तरीय रुपमा पुल सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्