भद्रपुर, भदौ २२ । कचनकवल गाउँपालिकामा असन्तुष्ट समूहले राखेको माग आगामी हिउँदे अधिवेशनमा संबोधन गर्ने सहमति भएको छ ।

कचनकवल गाउँपालिकाको विकास र समग्र जिल्लाको समृद्धिका लागि जनप्रतिनिधिहरु गंभीर बन्दै असन्तुष्ट समूहले राखेको मागलाई हिउँदे अधिवेशनमा संबोधन गर्ने सहमति गरेका हुन् । हिजो बसेको कार्यपालिका बैठकमा असन्तुष्ट समूहले राखेको मागका विषयमा सहमति बनेको हो । चालु आर्थिक वर्षमा बृद्धि गरिएको राजश्वलाई गत वर्षकै बमोजिम यथावत राख्ने , वडाहरुको घटेको बजेट सिलिङलाई आगामी दिनमा संचालन हुन नसक्ने कार्यक्रमको बजेटबाट मिलान गर्ने गरी हिउँदे अधिवेशनबाट अनुमोदन गराउने सहमति भएको हो । ‘ गाउँपालिकाले असुल गरेको २०७६–०७७ बमोजिम नै राजश्व संकलन गर्ने सहमति भएको छ ’ प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले भने ,‘ गाउँसभाले पारित गरिसकेको अबस्थामा त्यस सहमतिलाई अर्को सभाबाट अनुमोदन गराउने छौ. ।’ त्यस्तै वडाहरुको बजेट सिलिङ घटेको विषयमा संचालन हुन नसक्ने योजनाहरुबाट मिलान गर्ने सहमति भएको उनले जनाए ।
असन्तुष्ट समूहमध्येका कचनकवल ७ का वडाध्यक्ष भरत राजवंशीले हिजोको कार्यपालिका बैठकले आफूहरुको मागलाई सकारात्मक रुपमा लिएको बताए । उनले कही मागहरु संबोधन गर्न बाँकी रहेको जनाए । असन्तुष्ट समूहको मागलाई लिएर भदौ १५ गते कार्यपालिकाको बैठक बोलाइएको थियो । त्यस बैठकमा दुवै पक्ष लचक देखिएपछि हिजो अर्को बैठक राखिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । उनले सहमतिपछि गाउँसभाले पारित गरेको निर्णयलाई कार्यान्वयन गर्न वडाहरुलाई कार्यादेश पठाइसकिएको जानकारी दिए ।
कचनकवल नेतृत्वले वडागत वजेटको विनियोजनमा विभेद गर्दै न्यून रकम छुट्याएको भन्दै ४ कार्यपालिका सदस्यसहित १४ परिषद सदस्य असन्तुष्ट देखिएका थिए । उनीहरूले वजेट सिलिङ यथावत हुनु पर्ने, जनताले तिर्नु पर्ने राजश्व साविक अनुसार नै हुनु पर्ने, गाउँपालिकाभित्रका सडक मर्मत लगायत विकास निर्माणका काम वडामार्फत हुनु पर्ने, योजना तथा अनुदान वडा कार्यालयको सिफारिसमा हुनु पर्ने र विकास निर्माणको लापरवाही र सामग्री वितरण प्रणाली पारदर्शी नभएकोले छानविन गरिनु पर्ने माग राखेका थिए । त्यसक्रममा आन्दोलित बनेको असन्तुष्ट समूहले गाउँपालिका कार्यालयमा तालाबन्दी , कार्यक्रम बहिष्कार , वडाको कामकाज ठप्पजस्ता विरोधका कार्यक्रम गरेका थिए । कचनकवलमा १३ जना कार्यपालिका सदस्य नेकपा र नेपाली कांग्रेसका छन् भने बाँकी २२ जना सदस्य राप्रपाका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्