बिर्तामोड , भदौ २३ । अनिवार्य अवकास पाएका बिर्तामोड नगरपालिकाका प्रशासकीय अधिकृत पशुपति खतिवडालाई विदाइ गर्दैगर्दा बिर्तामोडबासीहरुलाई दुखसँगै चिन्ता लागेको छ ।

खतिवडालाई विदाइ गर्दै

एकजना कुशल र असल प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहेका खतिवडालाई विदाई गर्दैगर्दा दुख मानेका नगरबासीहरुले यस अर्थमा चिन्ता गरेका हुन् कि अव अर्को प्रशासकीय अधिकृत कस्तो आउने हुन् । भदौ १६ गते उमेर हदका कारण अवकास पाएका खतिवडालाई विदाइ गर्ने क्रम अझै सकिएको छैन । नगरपालिका कार्यालयसँगै नगरका वडा कार्यालयहरुले एकपछि अर्को गर्दै उनलाई विदाइ गरिरहेका छन् । यसक्रममा बिर्तामोड नगरपालिकाको ४ नं वडा कार्यालयले आज विदाइ तथा सम्मान कार्यक्रम ग¥यो । कार्यक्रममा बोल्दै वडाध्यक्ष कुलप्रसाद संग्रौलाले अब कस्तो प्रशासकीय अधिकृत आउने हुन् भनेर नगरबासीहरुले चिन्ता गरिरहेको बताए । उनले विदाइ भएर जाने प्रमुख प्रशासकीय अधिकृत खतिवडाले आधार बनाइसकेकाले नयाँ आउनेलाई गाह्रो नहुने धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष जलकुमार गुरुङले कसैको चाकडी चाप्लुसी नगरी पूर्ण आत्मबिश्वासका साथ काम गर्ने बानीले गर्दा खतिवडाले सबैको मन जित्न सफल भएको बताए । समाजसेवी राजकुमार पोखरेलले असल , कुशल र जनप्रिय प्रशासकको छवि वनाएका खतिवडालाई बिर्तामोडमै आएर राजनीति गर्न आग्रह गरे । गोमेन्द्र कलेजमा प्राचार्य रुपक खनालले अवकासपछिको बाँकी उतराद्र्ध जीवन मार्गनिर्देशक र समाज उपयोगी बनाउन सुझाव दिए । वडा सदस्य राहुल शर्माले स्वागत गरेको कार्यक्रमको संचालन वडा सचिव नन्दलाल आचार्यले गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत खतिवडा विदाइ भएर गएपछि बिर्तामोड नगरपालिकामा अब कसलाई ल्याउने भनेर राजनीति शुरु भएको छ । आफू नजिकको र भनेको मान्ने ब्यक्तिलाई ल्याउन लबिङ भइरहेको हो । सतारुढ नेकपाभित्रै दुईवटा टीमले दुईजनालाई सिफारिस गरेको बताइएको छ । रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम ओझालाई ल्याउन आआफ्नै तवरमा लबिङ भइरहेको हो । बिर्तामोड निवासी भट्टराई सतारुढ दलनिकट कर्मचारी संगठनका व्यक्ति हुन् । कमल निवासी ओझा भने जिल्ला विकास समिति झापाका पूर्व स्थानीय विकास अधिकारी हुन् । बिर्तामोड नगरपालिकालाई सन्तुलित रुपमा चलाउन सक्ने व्यक्ति चाहिएकाले पार्टीनिकट नहेरी चलायमान र दक्ष प्रशासकको खाँचो भएको भन्दै कर्मचारी तहले ओझालाई नै रुचाएको एक कर्मचारीले बताए । दुवैजनाले इच्छा ब्यक्त गरेपछि सामान्य प्रशासन मन्त्रालयले सरुवाको निर्णयमा ढिलाइ गरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्