शिवसताक्षी , भदौ २४ । नगरका स्वास्थ्य शाखा प्रमुखलाई कोरोना संक्रमण देखिएपछि शिवसताक्षी नगरपालिका कार्यालय भदौ ३१ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरिएको छ ।

नगरपालिकाले एक सूचना जारी गरी नगरपालिका कार्यालय भदौ ३१ गतेसम्मका लागि बन्द रहने जनाएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई नै संक्रमण देखिएपछि कार्यालय बन्द गर्नु परेको प्रवक्ता नवीन इजमले बताए । उनले संक्रमितको सम्पर्कमा आएका नगरपालिकाका सम्पूर्ण कर्मचारी , वडा कार्यालयहरुमा कार्यरत सम्पूर्ण कर्मचारी , स्वास्थ्य कार्यालयहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भोलिदेखि कन्ट्याक्ट ट्रेसिङ गरिने जानकारी दिए ।

त्यस्तै स्वाब संकलन गरिएका सम्पूर्ण कर्मचारीहरुलाई रिपोर्ट नआएसम्म होम क्वारेन्टाइनमा बस्न भनिएको र सबै वडा कार्यालयहरुमा अत्यावश्यक सेवा मात्र प्रदान गर्ने निर्णय भएको जानकारी दिए । शिवसताक्षी नगरपालिकामा स्वास्थ्य शाखा हेर्ने प्रमुखलाई हिजो संक्रमण पुष्टि भएको हो । त्यस्तै शिवसताक्षी ६ शिवगञ्ज बजारकी संक्रमित महिलाको घरका सदस्यलाई समेत संक्रमण देखिएपछि यसअघिको सिललाई यथावत राखिएको इजमले बताए । शिवसताक्षी ६ शिवगञ्ज घर भएकी एनआइसी एसिया बैंक बिर्तामोडकी महिला कर्मचारीको घरका ३ जना सदस्यलाई समेत हिजो संक्रमण देखिएको थियो । २४ वर्षिया ती महिला कर्मचारीमा बुधबार संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्