भद्रपुर , भदौ २५ । झापाको भद्रपुर नगरपालिका –३ मा पर्ने मेची पारीको डुलु गाउँका नागरिकको दैनिकी सहज बन्दै गएको छ । भद्रपुरमा पर्ने टापु आकारको त्यस गाउँमा जनप्रतिनिधि आएसँगै बाटो र मेची पुलको निर्माणले स्थानीयको दैनिकी सहज बन्दै गएको हो ।

डुलु गाउँमा १सय ४० घर परिवारको बसोबास रहेको छ ।उक्त गाउँलाई मेची पारीको नेपाल पनि भनिन्छ ।डुलु गाउँ जोड्ने झोलुङ्गे पुल बनेसँगै आफूले उत्पादन गरेको तरकारी बिक्रीका लागि आफैँ मेची वारी जाने गरेको स्थानीय चित्रा राजवंशीले बताइन् । “अहिले हामीले उत्पादन गरेको तरकारी म आफैँ बिक्रीका लागि मेची वारी आउँछुं” साग बिक्रीका लागि मेची वारी आइपुगेकी राजवंशीले भनिन्, “दैनिक ५ सय रुपैयाँ बढीको साग बिक्री गर्छु ।”
पुल बनेसँगै स्थानीय महिलाले उत्पादन गरेका कृषि उपज बिक्री गर्न समस्या नभएको उनीहरु बताउँछन् । यतिबेला कोरोना महामारीले भारतबाट तरकारी आयात नहुने भएकाले पनि उनीहरुले उत्पादन गरेको तरकारीले बजार पाएको छ ।
मेची पारीकी सुनु राजवंशीले उत्पादन गरेको तरकारीले कहिले पनि बजार पाउँदैन थियो । यस वर्ष भने दैनिकजसो तरकारी बिक्रीका लागि पुल आसपास आउने गरेको उनले सुनाइन् ।“यतिबेला पुल हेर्नकै लागि आउने मानिसहरुले पनि यहाँबाट तरकारी किनेर लानु हुन्छ”उनी भन्छिन् “हिजोआज तरकारी बिक्री हुन थालेपछि गुजारा चलाउन समस्या छैन ।”पुल नहुँदा धेरै मात्रामा तरकारी उत्पादन गर्नेले मात्र बजार पाउने गर्थे । “डुँगामा हालेर तरकारी बिक्रीका लागि भद्रपुरको ज्ञानुचोक लानु पथ्र्याे” राजवंशीले भनिन्, “हाम्रो तरकारीले पनि बजार पाउँछ भन्ने नै थाहा थिएन, अहिले हामी आफैँ तरकारी बिक्री गर्दै र्छौँ ।”

त्यस क्षेत्रका महिलाले विहान–बेलुका घरको काम गरेर बचेको समयमा उत्पादन गरेको तरकारी बिक्री गर्छन् । ढाकीमा तरकारी राखेर बिक्रीका लागि महिलाहरु मेची वारीसम्म आउँछन् । पुल निर्माणपछि मेची पारी खाजा पसलहरु समेत खुल्न थालेको भद्रपुर नगरपालिका –३की वडाध्यक्ष कमला थुलुङले बताइन् ।
जमिन नेपालको नक्सा भारतको
मेची पारीका केही स्थानीयले उपभोग गरेको जमिन भने भारतीय नक्सामा परेको वडाध्यक्ष थुलुङ बताउँछिन् । नेपाली नागरिकता र जग्गाधनी पूर्जा रहेका करिब २५ परिवारले आधारभूत सेवा भने नेपालबाटै उपभोग गरिरहेका छन् ।सुरुमा उनीहरुले भोगचलन गरेको जमिन नेपालमै थियो । २०४३ सालतिर सीमामा पिलर गाडेपछि भारततिर परेको जग्गाधनी बताउँछन् । जग्गा छुट्याउने क्रममा नेपाली नागरिक बसोबास गरिरहेको भूमि भारततर्फ र भारतीय बसोबास गरिराखेको स्थान नेपालतर्फ परेको थियो । त्यसपछि भारतीय पक्षले आफ्नो जमिनको सुरक्षाका लागि पिलर गाडेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्