बैगुनधुरा , भदौ २६ । नेपाली कांग्रेस संस्थापक नेता बिपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाउन सक्रिय छ । तीन दिन अर्थात भदौ २४ गतेदेखि विविध कार्यक्रम गरी मनाउन सुरु गरिएको कार्यक्रम अहिले पनि जारी छ ।

कोरोना संक्रमणका कारण सार्वजनिक सभा समारोह नगरे पनि कांग्रेसले थोरै संख्यामा भेला भएर वृक्षरोपण, विपीको सालिकमा माल्यार्पण र दीप प्रज्वलनका कार्यक्रम ग¥यो । “जुम“ कार्यक्रमलाई प्राथमिकता र महत्व दिएको कांग्रेसका केही समितिले विगतका भन्दा नवीन कार्यक्रम गरेर विपी जन्मजयन्ती मनाएका छन् । यसैक्रममा नेपाली कांग्रेस बैगुनधुराले शुक्रबार भिन्न ढंगले बिपी जयन्ती मनाएको छ । हरेक वर्ष विचार गोष्ठी र वृक्षरोपण र अरु त्यस्तै परम्परागत शैलीका कार्यक्रम गर्ने बैगुनधुरा कांग्रेस सडक मर्मतसम्भार गरेर विपी जयन्ती मनाएको हो । ‘ समयमा मर्मत नहुँदा बैगुनधुरा– सोलमारी सडकमा आवागमन बन्द जस्तै थियोे ’ कांग्रेस झापा जिल्ला सदस्य उत्तमबहादुर चौँलागाईंले भने,‘ केही रचनात्मक काम गरौँ भन्ने सोचले बाटो मर्मत गरेर बिपी जयन्ती मनाएका हौँ ।’ स्काभेटर प्रयोग गरेर सडकमा भएका खाल्डाखुल्डी पुर्ने र सम्याउने काम भएको उनले बताए ।

पाँच किलोमिटर सडक मर्मत गरेपछि सवारी सञ्चालनमा आएको भर्खरै कांग्रेस प्रवेश गरेका भुपेन्द्र ढुंगानाले जनाए । ‘सडकमा सवारी साधन पल्टिँदा त अनौठो हुँदैन, बालबालिका बाटोमा जमेको पानीमा डुबे भने त्यसको सन्देश नकारात्मक जान्छ’ उनले भने,‘ जिम्मेवार निकायले बाटो मर्मत नगरेपछि चन्दा संकलन गरेर मर्मत गरेका हौँ। ’ बाटो मर्मत गर्न प्रयोग गरिएको स्काभेटरको भाडा कांग्रेस कार्यकर्ताले चन्दा संकलन गरेर दिएका हुन् । सो बाटो निवर्तमान अर्थमन्त्री युवराज खतिवडाको घर जाने बाटो समेत हो । प्रधानमन्त्रीको गृहनगर दमकमा नचाहिने कामका लागि अर्बौं रकम विनियोजन गर्ने अर्थमन्त्री खतिवडाले आफ्नो गाउँघरको बाटो बनाउन रकम विनियोजन नगर्दा सडक जीर्ण भएको स्थानीय गोपाल भट्टराईको भनाइ छ । ‘बाटो बनाउन कसैले चासो नै दिएनन्’ भट्टराईले भने,‘ आवातजावतमा नै समस्या र अप्रिय दुर्घटना हुने सम्भावना बढेपछि सडक मर्मत गरिएको हो ।’ देशको विकास हुन गाउँको विकास हुनु पर्छ भन्ने विपीको चिन्तनलाई सार्थक बनाउने र विपी जयन्तीको सकारात्मक सन्देश प्रवाह गर्न सडक मर्मत गरिएको कांग्रेस कार्यकर्ताको भनाइ छ । कमल गाउँपालिकामा पर्ने सो सडकखण्डको खाल्डाखुल्डी पुर्ने काम भएको केदार कटुवालले बताए । सडक मर्मत कार्यमा कांग्रेस कार्यकर्ता स्वतः स्फुर्त रूपमा भेला भएर पानीका बावजुद श्रममा जुटेका थिए । यसले गाउँका कांग्रेस कार्यकर्तामा जागरण आएको संकेत गर्छ । साथै विपी जयन्ती मनाउने पुरानो शैलीमा परिवर्तन जरुरी भएको सन्देश गएको कांग्रेसजनको बुझाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्