भद्रपुर , भदौ २९ । सीमा सुरक्षा तथा राजश्व चुहावट नियन्त्रणमा खटिदै आएको सशस्त्र प्रहरीले यस वर्ष झापाका ९ वटा नाकामा बोर्डर आउट पोस्ट (बीओपी) थप्ने भएको छ ।

सशस्त्र प्रहरी बल हेडक्वार्टर २ नम्बर गण झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमा सुरक्षाका लागि थप निगरानी बढाउन बीओपी थप्न लागिएको जनाएका हुन् । गणपति पाण्डेका अनुसार थपिएका बीओपी सहित झापामा यस वर्षबाट १७ वटा बीओपी हुने छन् । नयाँ बीओपीका लागि जग्गा प्राप्तिको प्रकृयामा जुटेको जनाउादै पाण्डेले उपयुक्त स्थानमा जग्गा पाउन मुश्किल परेको समेत जानकारी दिए ।
गणपति पाण्डेका अनुसार यस वर्ष पूर्वोत्तर झापाका तिरिङ, नकलबन्दा, सतिघट्टा, ज्यामिरगढी, दक्षिणतर्फ भद्रपुरको मेची पुलआसपास, महेशपुर, पाठामारी, पन्थापाडा र गौरदाहको आँपगाछीमा बीओपी थपिनेछ । काँकरभिट्टाको सशस्त्र प्रहरी राजस्व गुल्मलाई समेत बीओपीमा परिणत गरिएको छ ।
बीओपी थपिएपछि सीमा सुरक्षा तथा चोरी तस्करी नियन्त्रणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ । हेडक्वार्टर २ नम्बर गण झापाको मातहतमा १३ सय सशस्त्र प्रहरी नेपाल भारत सीमा क्षेत्रको झापा खण्डमा कार्यरत छन् । खुल्ला सिमानाका कारण चोरी तस्करीका घटना बढिरहेको सीमा क्षेत्रमा महत्वपूर्ण भूमिका रहने सशस्त्र प्रहरीको रचनात्मक कार्यमा सीमा आसपासका बासिन्दाले सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्