झापा, भदौ ३१ । यातायात व्यवसायी र मजदुरहरु भोलि असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउन सहमत भएका छन् । विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए भोलिबाटै सेवामा जाने बताएका हुन् ।


व्यवसायी, यातायात मजदुर र मन्त्रालयबीच बस चलाउँदा पालना गर्नुपर्ने स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि साँझसम्म जारी गर्ने सहमति भएको छ । यसअनुसार यातायात व्यवस्था विभागले बुधबार नै मापदण्ड फाइनल गरेर सार्वजनिक गर्ने मन्त्रालयका एक अधिकारीले बताए । सोमबारको मन्त्री परिषद बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो । एक लाइनको सिटमा एक जना मात्रै यात्रु बस्ने गरी सेवा दिनुपर्ने सरकारको शर्त छ ।
बैठकमा मन्त्री बसन्त नेम्वाङले व्यवसायीको मागअनुसार नै सबै दुरीका सार्वजनिक सवारी खोलिएकाले सरकारले तोकेका मापदण्ड पालना गरेर सेवामा जान आग्रह गरे ।

उनले व्यवसायीलाई परेका समस्या समाधान गर्न तत्पर रहेको भन्दै भोलिबाटै लामो दुरीमा सेवा थाल्ने वातावरण तयार गरिने बताए । बैठकमा सहभागी व्यवसायी तथा मजदुरहरुले सरकारलाई धन्यवाद दिँदै मापदण्डसहित कार्यविधि आएपछि सेवा दिन सकिने बताएका थिए ।
उनीहरुले यात्रु तथा चालक–सहचालकको स्वास्थ्य सुरक्षा महत्वपूर्ण हुने भएकाले त्यसका लागि आवश्यक सचेतनामा लागि सरकारले पनि काम गर्नुपर्ने बताए । रिंगब्याक टोनमा बस चढ्दा कसरी सावधानी अपनाउने भनेर सन्देश दिइनुपर्ने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्