इलाम , भदौ ३१ । इलाम रोङ गाउँपालिका ६ पाटापुरका वयोवृद्ध लालसिंह राईले ५७ वर्षपछि आफू बसेको जग्गाको धनीपूर्जा पाउँदा आँशु झारे । १२ पटकसम्म आएको कुनै पनि सुकुम्बासी आयोगले दिन नसकेको लालपूर्जा गाउँपालिकाको व्यवस्थित वसोवास समितिले दिएपछि उनले हर्षले आँशु झारेका हुन् । २०२० सालदेखि रोङ गाउँपालिका ६ पाटापुरमा अव्यवस्थित रुपमा सुकुम्बासीहरु बसोबास गर्दै आएका छन् । यतिका वर्षसम्म उनीहरुले आफूले बसेको जग्गाको लालपूर्जा पाएका थिएनन् ।

लालपूर्जा लिदै लालसिंह

त्यसैगरी स्थानीय बलबहादुर कट्वाल पनि लालपूर्जा पाउँदा औधी खुशी देखिए । यतिका वर्षसम्म भूमिहीन भएर बल्ल जग्गाधनी बन्न पाउँदा उनीमा पनि हर्षको सीमा रहेन । लालसिंह र बलबहादुरसँगै पाटापुरका १९ परिवारले आज लालपूर्जा पाएका हुन् । लालपूर्जा पाउने अन्यहरुमा खिनमाया बलमपाखी मगर , भोजकुमार तामाङ, दिलबहादुर राई , टंकबहादुर मगर , टीकामाया राई , इन्द्रमाया रानामगर , विनिताकुमारी राई , लक्ष्मी तामाङ, तारामान राई , भक्तबहादुर राई , रेनीकुमारी राई , विष्णुकुमार राई , कुमार राई , युवराज राना , पूर्णबहादुर राई र भीमबहादुर राई रहेका छन् । बसोबास गरेको करिव ६ दशकपछि घरमै लालपूर्जा पाउँदा पाटापुरबासीहरु खुशी देखिए । ‘ वर्षौसम्म सुकुम्बासी हुँदासम्म कुनै पनि सुकुम्बासी आयोगले लालपूर्जा दिएन’ हातमा पूर्जा लिएका लालसिंहले भने ,‘ स्थानीय सरकार नआएको भए हामीले अझै पनि पाउँदैनथ्यौ होला ।’ उनलाई लालपूर्जा वितरण गर्दै गाउँपालिका अध्यक्ष शम्सेर राईले आफूले पाएको जग्गा नबेच्न आग्रह गरे । उनले २०२० सालदेखि बसोबासरत् पाटापुरबासीहरुको जग्गा २०२८ सालको नापी टोलीले नाप गरी बाउन्ड्री गरेर २०५२ सालको सुकुम्बासी आयोगले लालपूर्जा दिन नसक्दा आफूहरुले पूर्जा दिएको बताए । रोङ गाउँपालिकाको प्रमुख समस्याको रुपमा रहेको सुकुम्बासी र अब्यवस्थित बसोबासको समस्यालाई प्राथमिकतामा राखी गाउँपालिकाले २०७५ सालको असोजमा टंक थापाको संयोजकत्वमा ५ सदस्यीय व्यवस्थित बसोबास समिति गठन गरी काम अगाडि बढाएको थियो । त्यस समितिले पहिलो चरणमा १९ परिवारलाई पूर्जा वितरण गरेको हो । वडा नं ६ को पाटापुरमा ८७ अव्यवस्थित परिवार रहेका छन् । उनीहरुलाई प्रक्रिया पु¥याई क्रमश लालपूर्जा वितरण गरिने अध्यक्ष राईले बताए । सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या रोङ गाउँपालिकाको लागि प्रमुख रहेको छ । ६ वटा वडा रहेको रोङ गाउँपालिकाभरि ४७४ परिवार सुकुम्बासी र अव्यवस्थित बसोबासको रुपमा रहेको व्यवस्थित वसोवास समितिले जनाएको छ ।

लालपूर्जा वितरण गर्दै वडाध्यक्ष स्याङ्वो

पाटापुरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई लालपूर्जा वितरण गरिएको हो । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष मणिकुमार स्याङ्वोले २०५२ सालको नोवेल केमी राईको अध्यक्षतामा रहेको सुकुम्बासी आयोगले बनाएको मापदण्डलाई टेकेर एक परिवारलाई २० रोपनीसम्मको जग्गाको पूर्जा वितरण गरिएको बताए । उनले अन्य सुकुम्बासी परिवारहरुको कागजात मालपोत कार्यालयमा प्रक्रियामा रहेको भन्दै हप्ता–दश दिनमा थपलाई पूर्जा वितरण गरिने जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगर , नेकपा रोङ अध्यक्ष बृहष्पति खतिवडा , नेपाली काँग्रेस रोङ सभापति देवीप्रसाद अर्याल , व्यवस्थित वसोवास समितिका सदस्य वीरबहादुर लाप्चा , ६ नं वडा सदस्य विक्रम राईलगायतले बोल्दै पाटापुरबासीहरुले लालपूर्जा पाउनु खुशीको कुरा भएको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला राई , प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई , ५ नं वडाध्यक्ष युवराज राई , वडा सदस्यहरु सुमित्रा योञ्जन , कुमारी दर्जीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्