बिर्तामोड , असोज २ । बिर्तामोड नगरपालिकाका विद्यालयहरुमा गत वर्षदेखि लागू गरिएको आचरण सचेतना शिक्षा प्रभावकारी बन्दै गएको छ । त्यस पाठ्यक्रमबाट विद्यार्थीहरुको वानीव्यवहार र आचरणमा परिवर्तन आएपछि यस वर्ष थप कक्षाहरुका लागि समावेश गरिएको छ ।

कक्षा ५ र ६ का लागि विमोचन गरिदै पाठ्यपुस्तक

गत वर्ष कक्षा ३ र ४ मा लागू गरिएको सो पाठ्यक्रम यस वर्ष कक्षा ५ र ६ का लागि समावेश गरिएको हो । आचरण शिक्षासम्बन्धी पाठ्यक्रमले विद्यार्थीहरुको वानी व्यवहारमा सुधार आएकाले यस वर्ष थप कक्षाहरुमा समावेश गरिएको बिर्तामोडका नगर शिक्षा अधिकारी तिलचन भण्डारीले बताए । गत वर्ष कक्षा ३ र ४ का लागि निर्माण गरिएको पाठ्यक्रममा केही परिमार्जन गरी कक्षा ५ र ६ को पाठ्यक्रम तयार गरिएको उनले बताए ।
बिर्तामोड नगरपालिकाले गत शैक्षिक सत्र २०७६ देखि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अनिवार्य आचरण शिक्षा लागू गरेको हो । बिहीबार एक कार्यक्रमका बीच कक्षा ५ र ६ को आचरण सुधार शिक्षा पाठ्यक्रमको विमोचन गरियो । किताबी ज्ञानसँगै आचरण सुधार महत्वपूर्ण भएकाले विद्यार्थीहरुको स्वभाव ,आनीवानी परिवर्तनका लागि अन्य कक्षाहरुमा पनि आचरण शिक्षा लागू गर्दै जाने नगर प्रमुख धु्रवकुमार शिवाकोटीले बताए । नगरपालिकाले आगामी वर्ष कक्षा ७ र ८ मा यो पाठ्यक्रम लागू गर्ने भएको छ । त्यसपछि कक्षा १,२ र ३ का लागि पाठ्यक्रम तयार गरिने नगर शिक्षा अधिकारी भण्डारीले जानकारी दिए । आचरण सचेतना शिक्षाको पाठ्यक्रममा व्यवहारिक शिक्षासँगै धार्मिक ज्ञान, संस्कार, संस्कृति, परम्परागत रितीरिवाज, धार्मिक सहिष्णुता, बाटो प्रयोग गर्दा अपनाउनुपर्ने ट्राफिक नियम, जैविक खानाको महत्व तथा विषादीयुक्त खानाबाट हुने नोक्सानीलगायत विषयवस्तुलाई समेटिएको छ । पाठ्यक्रमको विषयवस्तुमा स्थानीय सम्पदा, पोषण, स्वास्थ्य, योग, स्थानीय लोकबाजा, सञ्चार, प्रविधि, वातावरण, प्राकृतिक प्रकोप, प्रदूषण नियन्त्रण, व्यक्तित्व विकास पनि रहेको छ ।
बिर्तामोड नगरभित्र १८ सामुदायिक र ५२ संस्थागत (निजी) विद्यालय छन् । नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराएको छ । सामुदायिक र संस्थागत दुवैमा ‘आचरण सचेतना’ पाठ्यक्रम नेपाली भाषामै अध्यापन भइरहेको छ । नगरपालिकाले विद्यालयमा भएकै शिक्षकलाई तालिम दिएर यो विषय लागू गरेको हो । विद्यालयमा पढेका तथा सिकेका कुरालाई आफ्नो दैनिक जीवनमा लागू गराउन विद्यार्थीसँगै अभिभावकलाई पनि आचरण सचेतनाको ज्ञान दिने गरिएको लेखन समितिका संयोजक युवराज पाण्डेले बताए । पाठ्यक्रम निर्माणको लागि पाण्डेको संयोजकत्वमा १० सदस्यीय लेखन समिति निर्माण गरिएको थियो । आचरण सचेतना शिक्षा सुरु भएसँगै विद्यार्थीको दैनिकी र व्यवहारमा सकारात्मक परिवर्तन आएको पाठ्यपुस्तक लेखन समितिमा समेत रहेका महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक युवराज कट्टेलले बताए । उनले जादुको छडीजस्तो विद्यार्थीको आचरणमा सुधार नदेखिएपनि क्रमिक रुपमा केही परिवर्तन देखिएको उनले जानकारी दिए ।
प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले राज्यको संघीय ढाँचाअन्तर्गत स्थानीय आवश्यकता, स्थानीय विषय क्षेत्र र शैक्षिक व्यवस्था अनुरुपको सन्दर्भ सुहाउँदो पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार स्थानीय तहलाई दिएको हुँदा बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयले स्थानीय विषयका रूपमा स्थानीय पाठ्यक्रम तयार गरेको बताइएको छ । विमोचन कार्यक्रममा नगर प्रमुख शिवाकोटी, लेखन समितिका संयोजक पाण्डे , शिक्षक टीका पोखरेललगायतले बोलेको नगरपालिकाका सूचना अधिकारी जय तिम्सिनाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्