झिलझिले, भदौ २ । झापाको शिवसताक्षीमा जारी एकमहिने लकडाउन शुक्रबारदेखि खुलेको छ ।

शिवसताक्षी नगरपालिकाको शुक्रबार बसेको बोर्ड बैठकले नगरका साप्ताहिक बजार अर्को निर्णय नहुञ्जेलसम्मका लागि बन्द गर्ने निर्णयलाई यथावत राख्दै अन्य स्थायी व्यवसाय भने खुल्ला गर्ने निर्णय गरेको हो ।
शिवसताक्षी नगरपालिकाको भदौ १ गते बसेको बोर्ड बैठकले शिवसताक्षी नगरमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्र बजार खुल्ला गर्ने निर्णय गरेको थियो । बैठकले सैलुन, ब्युटी पार्लर र होटल भने पूर्ण बन्द गर्ने निर्णय गरेको थियो ।
नगरका प्रवक्ता नवीन ईजमका अनुसार व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेर सामाजिक दुरी कायम राखेर व्यापार व्यवसाय सञ्चालन गर्न पाउने निर्णय भएको हो । शिवसताक्षीका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को पूर्ण पालना गर्दे विद्यार्थी भर्ना खुला गर्ने निर्णय भएको छ । प्रवक्ता ईजमका अनुसार आफूलाई सहज हुने तथा पायक पर्ने विद्यालयमा आफ्ना बालबालिकालाई पठनपाठनमा सहजीकरण गर्न अभिभावकलाई पालिकाले अनुरोध गरेको छ ।
बैठकले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने कार्यलाई सुरु गर्ने निर्णय गरेको छ । बोर्ड बैठकले असोज मसान्तसम्मलाई अतिरिक्त शुल्कविना नै कृषि समूह गठन गर्ने र कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले असोज २, ३ र ४ गते नगरपालिका, वडा कार्यालय र नगरका चोक बजारमा दीप प्रज्वलन गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।
वडा नम्बर ५ र वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गर्ने निर्णय भएको छ ।
शिवसताक्षीका केही भागमा जंगली हात्तीको उपद्रो बढेसँगै नगरपालिकाले हात्ती धपाउने साइरन र टर्चलाइट खरिद गरेर सरोकार निकायलाई प्रदान गर्ने निर्णय गरेको इजमले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्