भद्रपुर, असोज ६ । तत्कालीन बालुवाडी गाविसका अध्यक्ष तथा काँग्रेस झापाका स्थानीय नेता चन्द्रमणि भट्टराईको स्मृतिमा ६० लाख लागतमा निर्माण गरिएको स्मृति भवनको उद्घाटन गरिएको छ ।

२०५९ असोज ६ गते तत्कालीन नेकपा माओवादी विद्रोहीले हत्या गरेका नेता भट्टराईको स्मृतिमा बालुवाडीमा निर्माण गरिएको भवनको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गरेका हुन् ।
भवन निर्माणका लागि नेता सिटौलाले सांसद रहँदा सांसद विकास कोषबाट १४ लाख रुपैयाँ प्रदान गरेका थिए भने प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी तथा बसन्तकुमार बानियाँले दश– दश लाख रुपैयाँ प्रदान गरेका थिए । बाँकी रकम नेपाली काँग्रेसका स्थानीय नेता तथा शुभचिन्तकबाट संकलन गरेर निर्माण सम्पन्न गरिएको हो ।
शहीद चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठानकी अध्यक्ष सीतादेवी भट्टराईको अध्यक्षता तथा नेता सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद सरावगी, बानियाँ, नेपाली काँग्रेस झापा सभापति उद्धव थापा, जिल्ला सदस्य विजय रिजाल, क्षेत्रीय सभापति गणेश पोखरेललगायतले मन्तव्य राख्दै भट्टराईले पुर्याएको सामाजिक जागरण, स्थानीय विकासमा देन तथा राजनीतिक योगदानबारे चर्चा गरेका थिए । यसैबीच स्मृति भवन परिसरमा निर्मित शहीद भट्टराईको सालिक समेत अनावरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्