झापा ,असोज ७। कानुनी प्रक्रिया मिचेर तीनवटा सिसौको रुख काटेको घटनामा प्रदेश १ का सांसद वृख प्रधान मुछिएका छन् । झापा अर्जुनधारा नगरपालिका ११ सुखानी शहीद स्मृति पार्कभित्रका तीनवटा रुख आफैं उपस्थिति भएको बेला काटिएपछि उनी विवादास्पद घटनामा मुछिएका हुन् ।

पार्क व्यवस्थापन समितिसँगको मिलेमतोमा रुख काटेको आरोप उनलाई लागेको छ । जिल्ला वन कार्यालयलाई जानकारी नै नदिइ असोज ५ गते ती रुख काटिएका थिए । बिनाजानकारी रुख काटिएको सूचना पाएपछि रेन्जरसहितको वन कार्यालयको टोली सोही बेला घटनास्थल पुगेको थियो ।जतिबेला सांसद प्रधान रुख काटिएको स्थानमै थिए । शहीद सुखानी स्मृति उद्यान व्यवस्थापन समितिका व्यवस्थापक पुष्प तिवारीले आफूहरूले रुख काट्न स्वीकृति नदिएको बताए । ‘साउन २२ र २३ गते भुवन प्रधानले दाउरा चाहियो, रुख दिनु भन्नु भएको हो’ तिवारीले भने,‘ त्यसपछि कुनै सल्लाह भएको थिएन, असोज ५ गते रुख काटियो,स्वीकृत गरेको आधार र कुनै विल छैन ।’ उद्यान नेतृत्वसँग कुनै सरसल्लाह र छलफल नभइ रुख काटिएको व्यवस्थापक तिवारीको भनाइ छ । भुवन सांसद प्रधानका छोरा र उद्यानका कर्मचारी हुन् ।

केही दिनअघि रुख मागिनु र केही दिनपछि बिनाअनुमति रुख काटिनुले त्यसमा खराब नियत प्रष्ट हुने अर्जुनधाराका एक युवा सामाजिक अभियन्ताले बताए । ‘ सांसद आफैं उभिएर रुख कटाएका हुन्,वन कार्यालयको टोली पुगेपछि सांसदको रुख लाने योजना असफल भएको हो’ ती युवाले भने,‘ रुख लाने नियत थिएन भने त्यहाँ सांसद जानु पर्ने कारण के थियो ? ’ जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले अनुमति बिना रुख काट्न नपाइने बताए । आफूखुसी रुख कसैले पनि काट्न नमिल्ने उनले सुनाए । सालका रुख काट्न त सरकारले प्रतिबन्ध नै लगाएको छ । ‘ रुख काट्ने विषयमा वन कार्यालयलाई सोधिएन, काट्नै पर्ने भए सोधेर र आपसी समन्वयमा काटेको भए प्रश्न उठ्ने थिएन’ उनले भने,‘ रुख काट्दाकाट्दै वन कार्यालयको टोली त्यहाँ पुगेको हो, धेर कुरा मैले भनिरहनु पर्दैन, यो अनुसन्धानको विषय हो, बनेको छ ।’ वन कार्यालयको टोलीले ती रुखका टुना नापजाँच गरेर त्यही थन्क्याएको छ । काटिएका दुईवटा रुख पार्क क्षेत्रभित्रका र एउटा रुख पार्किङ एरियाको हो । कछुवा संरक्षण क्षेत्रका रुख जहाँको त्यहीँ छन् , एउटा रुखको टुना उद्यानको सुरक्षित स्थानमा राखिएको छ । सांसद प्रधानले रुख काटिएको विषयमा नाम जोडिनु प्रतिशोधपूर्ण भएको बताए । ‘ म रुख काटेको ठाउँमा गएको हो’ रुख काटिएको ठाउँ नजिकै आफ्नो घर भएको बताउँदै सांसद प्रधानले भने,‘ यो विषयमा जवाफ दिँदादिँदा हैरान नै भइसकेँ,रुख काटेको देखेर मात्रै गएको हुँ।’ सांसद प्रधानले पार्कले नै रुख कटाएको दाबी समेत गरे। उनले रुख काटिएको नभइ लाथ्रा काटिएको भन्न समेत भ्याए । ‘ यो केही पूर्वाग्रही मानिसको मिलेमतोमा गरिएको प्रपोगण्डा र ममाथि लगाइएको आरोप मात्रै हो’ सांसद प्रधानले भने,‘ यसमा प्रकाश नेपालको हात छ, उनी आफूमाथि लागेको दोष लुकाउन लागिपरेका छन् ।’ नेपाल सो क्षेत्रमा रहेको साविक नमूना सामुदायिक वनका अध्यक्ष हुन् । सो वन अहिले सुखानी पार्कको स्वामित्वमा आएको छ । नेपाललाई दुई—अढाई वर्षअघि १ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियोे । सोही विषयमा कारबाही गर्न र अख्तियारमा जान सरोकारवालालाई भनेकाले आफूलाई दोषी देखाउने षड्यन्त्र भएको सांसद प्रधानको दाबी छ । रुख काटिएको विषयमा आफूलाई नभइ स्टाफ र व्यवस्थापकलाई सोध्न आग्रह गरेका उनले कारबाही हुनु पर्ने मानिस डुक्रेर हिँडिरहेको तर, रुख काटिएको विषय आफूलाई बारम्बार सोध्दा दिक्क लागेको बताए ।
तर, सांसद प्रधानका छोरा भुवनले दाउराका लागि रुख मागेको स्वीकारे । पार्कले स्टाफलाई दाउरा दिने नियम पनि छ , त्यही भएर रुख काटेको हुन सक्ने भन्दै उनले अनभिज्ञता प्रकट गरे। ‘ म कछुवा संरक्षण क्षेत्रको रुख काटेको देखेर गएको थिएँ ’ उनले भने,‘ रुख वालमाथि लड्छ, नोक्सान हुन्छ भनेर अह्राइ, कराइ गरेको मात्रै हो, तर दोष आइलाग्यो ।’ सांसद प्रधानले आफू निर्दोष भएको दाबी गरे पनि छोरा भुवनले रुख माग्नु , रुख काटेको समयमा सांसद प्रधान त्यहीँ रहनु , प्रकाश नेपालमाथि असन्तुष्ट देखिनु र रुख काटिएको अवस्थामा लाथ्रा काटिएको भनेर प्रतिक्रिया दिनु उनी उपर आशंका गर्ने आधार भने पक्कै हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्