झापा ,असोज ८ । झापा अर्जुनधारा ११ को सुखानी शहीद स्मृति पार्कका तीनवटा सिसौका रुख प्रदेश सांसद वृख प्रधानले नै काटेको खुलेको छ ।

उनले ती रुख स्थानीय तीनजना मजदुर लगाएर कटाएको खुलेको हो । ‘हामीलाई २५ सय ठेक्कामा वृख दाईले नै रुख काट्न लगाउनु भएको हो’ रुख काट्नेमध्येका एकजना मजदुर सिध्दीकुमार डाँगीले भने, ‘रुख कटाउन वृख दाई नै आउनु भएको थियो, हामीले रोजीरोटीका लागि काट्यौ । ’ असोज ५ गते ती रुख काट्न मजदुर डाँगी, सुधना चौधरी र च्याङ्वा तामाङलाई लगाइएको हो । झापा क्षेत्र नम्बर २ (ख)का प्रदेश सांसद प्रधानले सुकेका, पोचिएका भनेर काट्न लगाएका हुन् । रुख काट्न लगाउँदा उनले पार्क व्यवस्थापन समिति र आफूबीच सल्लाह भएको भनेर मजदुरलाई ढाँटेका थिए । स्थानीय जक्कु राजवंशीले जिल्ला वन कार्यालयलाई रुख काटिँदै गरेको खबर गरेका थिए । यसअघि पनि रुख काटिएको देखेको बताएका राजवंशीले जंगल सकिने सोचेर फोन गरिदिएको सुनाए । ‘तीन –चार पटक रुख काटेको देखेको थिएँ’ राजवंशीले भने,‘ ठूलो मानिसको डरले कसैले भन्दैन, बारम्बार नराम्रो काम भयो अनि भनिदिएँ ।’ शक्तिको आडमा प्रतिष्ठानको संरक्षणमा रहेको वनमा बिनास्वीकृति रुख काटिने गरेको भएपनि त्यो ढिसमिस पारिने गरेको स्थानीय बताउँछन् ।

सांसद प्रधान सोही ठाउँका स्थानीयबासी रहेको र यसअघि पनि पटक–पटक रुख कटान गर्ने गरेको स्थानीयले बताए । प्रतिष्ठानको सम्पत्तिमा बिगतबाटै प्रधानले हालीमुहाली गर्दै आएका थिए । यसपटक प्रधानको कमजोरी सार्वजनिक गर्न आफूहरु बाध्य भएको उनीहरुको भनाइ छ ।
सांसद प्रधानले बिनाअनुमति रुख काटेको फोनमार्फत थाहा पाएपछि डिभिजन वन कार्यालय झापाले काटिएका रुख उठाउन रोकेको जनाएको छ । सांसद प्रधानले कतैबाट अनुमति नलिइ रुख काटेकाले छानबिन सुरु गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख बिष्णुलाल घिमिरेले बताए । सामान्य अवस्था रहे कारबाही गरेजस्तो देखाउने र सांसदको ठूलै दबाब आए मौन बस्ने पक्षमा वन कार्यालय रहेको स्रोतको दाबी छ ।
सासंद प्रधानले आफूलाई फसाउन विरोधीहरुले आरोप लगाएको भन्दै आएका छन् । उनी अरुलाई दोष थोपरेर पन्छने प्रयासमा रहेको स्रोतको दाबी छ ।
नेकपासम्वद्ध सांसद प्रधान विगत दुई पटक प्रतिष्ठानको अध्यक्ष समेत रहेका थिए। प्रदेश सांसद भएपछि उनले सो पद त्यागेका हुन् । अध्यक्ष नरहे पनि छोरा भुवनलाई प्रतिष्ठानको कर्मचारी बनाएर प्रधानले प्रतिष्ठानमा आफ्नो प्रभुत्व कायमै राखेका छ्न्। अबैध रुख काट्नेमा सांसद प्रधानको नाम मुछिएपछि नेकपाका प्रदेशस्तरका केही नेता नै उनलाई जोगाउन लागेको स्रोतको दाबी छ । नेकपाले जंगल र सिमसारसहितको २४.४ हेक्टर जमिन शहीदका नाममा राख्न सफल भएको छ । चार बिगाहाबढी सिमसार र पोखरीले ओगटेको त्यस स्थानमा अहिले कछुवा संरक्षण केन्द्र पनि छ । सुकेका रुख ढलेर कछुवालाई असर पु¥याउने देखिएपछि रुख काटेको बताएर उम्कने दाउमा सांसद प्रधान छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्