दमक , असोज १० । एकजना असइसहित झापाको दमकबाट ४ जना प्रहरी निलम्बनमा परेका छन् ।

मल व्यवसायीसँग आर्थिक लेनदेन गरेको भेटिएपछि एक जना असइसहित चारजना प्रहरी निलम्बनमा परेका हुन् । निलम्बित हुनेहरुमा असइ भरत कोइराला, हवल्दार शिवचन्द्र मुखिया, जवान भीमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितका अनुसार गत भदौ २४ गते बिल बिना युरिया मल ल्याउदै गरेको ट्याक्टर ताराबारी ढाटमा बसेका प्रहरीले समातेका थिए । तर माथिल्लो तहमा खबरै नगरी भोलिपल्टै छाडेका थिए । पण्डितले प्रहरीको चेन अफ कमाण्ड उल्लंघन गरेका कारण निलम्बनमा राखिएको बताउँदै उनीहरुमाथि छानविन भइरहेको जानकारी दिए । सामान पक्राउ परेपछि माथिल्लो निकायलाई खबर गर्नुपर्नेमा उनीहरुले त्यतिकै छाडिदिएको प्रहरी नायव उपरीक्षक पण्डितले बताए । मल व्यापारीहरुसँग आर्थिक लेनदेन भए–नभएको र के कति भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । उनीहरुले ६५ हजार रुपैयाँ घुस लिएर ट्याक्टर छाडेको आरोप छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले घटना भएलगत्तै चारजना प्रहरीलाई निलम्बन गरिएको बताउँदै उनीहरुमाथि छानविन भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्