भद्रपुर, असोज १० । कोरोना संक्रमण समुदायमा फैलिने क्रम झापामा बढ्दै गएको छ । त्यसक्रममा आज समुदायका ७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा दुई महिला र पाँच पुरुष रहेका छन् ।

संक्रमण फैलिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएका मृतकको परिवारका दुई सदस्य संक्रमित भएका छन् । गत बुधवार भद्रपुर १० बस्ने ८६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । सोही मृतकको परिवारका दुई सदस्यलाई आज संक्रमण देखिएको हो । मृतकका ५५ बर्षीया बुहारी र २० वर्षीय नातिलाई संक्रमण पुष्टि भएको भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । संक्रमित भएका दुवै आमा–छोरालाई उपचारका लागि मेची प्रादेशिक हस्पिटलको कोभिड उपचार केन्द्रमा लगिएको छ । ५७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा दुईजनाको रिपोर्ट पोजिटिभ आएको र बाँकी ५५ जनाको रिपोर्ट आउन बाँकी रहेको फोकल पर्सन भट्टराईले बताए । त्यस्तै बिर्तामोड नगरपालिकामा आज समुदायका तीनजना संक्रमित भएका छन् । असोज १ गते संंक्रमण पुष्टि भएका बिर्तामोड ५ का व्यक्तिका ८३ वर्षिया आमालाई आज संक्रमण देखिएको हो । त्यस्तै बिर्तामोड १ का ६० वर्षिय पुरुषलाई पनि संक्रमण देखिएको छ । त्यस्तै भारतबाट फर्केका बिर्तामोड ९ का ३२ वर्षिय पुरुषलाई आजै संक्रमण पुष्टि भएको हो । त्यसैगरी कनकाई नगरपालिका वडा नं ९ का ४४ वर्षिय पुरुषलाई संक्रमण देखिएको छ । संक्रमित हुनेमा आदर्श माविका कर्मचारी भएको जनाइएको छ । त्यस्तै भारत हैदरावादबाट फर्केका कचनकवल ५ का पुरुषलाई संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्