घैलाडुब्बा, असोज ११ । कनकाई नगरपालिकामा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं ९ का ४४ वर्षिय पुरुष रहेका छन् ।

थप उपचारका लागि लगिएका कोरोना संक्रमितको विराटनगरस्थित कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा गएराति मृत्यु भएको छ । राति १०ः४५ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि ती संक्रमितलाई मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । शरीर कमजोर हुने, ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर पिसिआर परीक्षण गराउँदा पुरुषको रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । झापामा उपचाररत रहँदा अवस्था गम्भीर बन्दै गएपछि शनिबार राति थप उपचारका लागि विराटनगर लगिएको थियो । उनको पिसिआर रिपोर्ट आएकै दिन राति मृत्यु भएको हो । हिजो उनको रिपोर्ट पोजिटिभ आएको थियो । आदर्श विद्या मन्दिर घैलाडुब्बाका कर्मचारी रहेका ती संक्रमित केही दिनदेखि अस्वस्थ्य रहेका थिए । मृत्युपछि प्रहरीले संक्रमितको घर सिल गरेको छ । संक्रमितको शवलाई व्यवस्थापन गर्न नेपाली सेनालाई खबर गरिएको वडाध्यक्ष प्रेम राजवंशीले बताए । योसँगै कनकाईमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दुई र जिल्लामा ७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्