झापा असोज १२ । वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिएको इजरायलले पहिलो चरण ५ सय नेपालीलाई केयरगिभरमा रोजगारीको अवसर दिने भएको छ । इजरायल सरकारले नेपालबाट २ हजार ५ सय नेपाली लैजाने जनाए पनि पहिलो चरणमा भने परीक्षणका लागि पाँच सय नेपाली युवा लैजाने भएको हो ।

पहिलो चरणको नतिजा हेरेर क्रमशः अरु नेपालीलाई पनि लैजाने योजना रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपाली श्रमिकलाई इजरायलमा रोजगारीमा पठाउनुअघि १४ असोजमा २ देशबीच श्रम सम्झौता हुने बताए । ‘पहिलो चरणमा ५ सय नेपाली युवालाई रोजगारीमा पठाउने योजना रहेको छ’ महानिर्देशक दाहालले भने,‘नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने भएपछि श्रमिक छनोट कार्यविधिका लागि वैदेशिक रोजगार विभागले काम सुरु गरिसकेको छ ।’ यसअघि इजरायल पठाउँदा गरिएको भन्दा यो पटकको प्रक्रिया केही लचिलो बनाइएको छ । अब जाने कामदारले इजरायलको हेल्थ केयर सेन्टरमा रहेको वृद्धवृद्धाको हेरचाहका लागि काम गर्नुपर्ने छ ।


श्रम सम्झौताका लागि इजरायलस्थित नेपाली राजदूत डा. अन्जान शाक्यले नेपाली केयर गिभरले काम गर्नुपर्ने जिरयातिक सेन्टर एन्ड नर्सिङ होमको समेत स्थलगत भ्रमण गरेकी छन् । नेपाली श्रमिकको इमानदारिता, मेहेनती स्वभावका कारण पछिल्लो समय इजरायल सरकार र त्यहाँका रोजगारदाता सकारात्मक हुदै आएका छन् । इजरायलमा नेपाली श्रमिक पठाउने सम्बन्धमा श्रम स्वीकृतिका लागि इजरायलस्थित नेपाली राजदूतलाई जिम्मा दिइएको छ । विभागले दुई देशबीच भएको श्रम सम्झौताका विषयलाई आधार बनाएर कार्यविधि बनाउने जनाउँदै कामसमेत सुरु गरिसकेको छ । यो कार्यविधिले इजरायल जाने श्रमिकको छनोट, योग्यता र पठाउने विधि तय गर्ने छ । नेपालले नै छनोट गरेर पठाइदिओस् भन्ने इजरायाली पक्षको अनुरोध रहेको छ ।भाषालगायतका विषय अनिवार्य नभएका कारण आवेदन दिनेको संख्या बढी हुनसक्ने विभागको अनुमान छ । यो प्रक्रियामा इजरायल जाने नेपाली श्रमिकको अनुमानित आम्दानी मासिक १ हजार ५ सय डलर अर्थात १ लाख ८० हजारको हाराहारीमा हुने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्