बिर्तामोड असोज, १२ । नेपाल उद्यमशिल महिला संघ झापाको दोस्रो अधिवेशनले अध्यक्षमा पुनः पार्वता विमलीलाई चयन गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका लागि विमलीलाई अध्यक्षमा चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा निरमाया पुलामी, प्रथम उपाध्यक्ष कुशुम राई, द्वितीय उपाध्यक्ष ऐश्वर्या पाण्डे, महासचिवमा यसोदा प्रसार्इं, सचिवमा देवीमाया पोखरेल र कोषाध्यक्षमा सुशिला पाठक सर्वसम्मत चयन भएका छन् । गठित समितिका सदस्यहरुमा कमला शिवाकोटी, इन्दु सुवेदी अधिकारी, संगिता चिमरिया, पूजा सुवेदी बस्नेत, विमला न्यौपाने, सिसम शाह, दिपा पोखरेल, विना घिमिरे र निरा न्यौपाने चयन भएका छन् ।

उर्मिला खरेलको संयोजकत्वमा इन्दु पूर्वेली र अम्बिका भण्डारी सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा समिति गठन गर्दै निर्वाचन सम्पन्न गरेको हो । यसअघि सम्पन्न अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिकाका उपमेयर पवित्रा महतारा प्रसाईंले महिलाहरुले पुरुषको आम्दानीमा निर्भर रहने समय अहिले नरहेको उल्लेख गर्दै उद्यमशिलतामार्फत् आर्थिक शसक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्न महिला उद्यमीहरुलाई आग्रह गरिन् ।

नेपाल उद्यमशिल महिला संघ झापाका अध्यक्ष पार्वता विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओम विमली, अलंैची व्यवसायी संघ झापाका महासचिव सुवास भटराई, नेपाल प्रेस युनियन झापा अध्यक्ष पूर्वेली, नारी सञ्चार गृह झापाका अध्यक्ष भण्डारी, नेपाल चेम्बर अफ कमर्श महिला अध्यक्ष पेमा भटराई, लायन्स क्लवका चेयर पर्सन अध्यक्ष शैलेन्द्र कुरुम्बाङ, लायन्स क्लव अफ बिर्तामोड लेडीका अध्यक्ष उर्मिला खरेल लगायतले महिलाहरु हरेक काम गर्न सक्षम रहे पनि अझै समाजले पूर्ण रुपमा विश्वास गरिनसकेको धारणा राखे ।

महिलाहरुको आर्थिक सशक्तिकरणले महिला हिंसा कम हुने र महिलामा आत्मनिर्भरता तथा आत्मविश्वास बढ्ने बताउँदै बक्ताहरुले सम्पत्तिमाथि महिलाको स्वामित्व र सर्वाधिकार बढाउनुपर्नेमा जोड दिए । संघका महासचिव शावित्रा दाहालले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश भीमा शिवाकोटीले पारेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्