झापा असोज, १४ । औषधी व्यवस्था विभागले तोकेको मापदण्ड पुरा गर्न नसक्ने मोरङका सेनिटाइजर उद्योग बन्द भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका स्थित महेश सोनीले सञ्चालन गरेको सेनिटाइजर उत्पादन गर्ने ‘पपुलर प्रोडक्स प्रालि’ बन्द भएको हो ।


मदिरा उत्पादन गर्दै आएका सोनीले लकडाउन सुरू भएपछि बुढीगंगा गाउँपालिकामा सेनिटाइज उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका थिए । बजारमा विषाक्त रसायन (मिथानोल) मिश्रित सेनिटाइजर बेचबिखन भइरहेको पाइएपछि विभागले अनुगमन तीब्र बनाएको छ । अनुगमनको क्रममा पपुलरले मापदण्ड पूरा नगरेको पाइएपछि एक महिनाभित्र तोकेको मापदण्ड पुरा गर्न विभागले निर्देशन दिएको थियो । मंगलबार विभागले गरेको अनुगमनको क्रममा मापदण्ड पुरा गर्न नसकेपछि उद्योग बन्द गरेको भेटिएको हो । ‘एक महिना अगाडि अनुगमनको क्रममा आउँदा सेनिटाइजर उत्पादन गर्ने पपुलरले कुनै मापदण्ड पुरा नगरेको भेटिएको थियो,’ विभागका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले भने, ‘अहिले अनुगमन गर्दा उद्योग नै बन्द भएको रहेछ ।

औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जिब शर्मा कट्टेलको नेतृत्वमा मंगलबार विराटनगरसहित मोरङको ५ वटा सेनिटाइजर उत्पादन गर्ने उद्योगको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा विराटनगर–१५ ग्यालेक्सी डेन्डल एण्ड सर्जिकल सप्लार्यसले मापदण्ड पुरा नगरेको भेटिएको छ । अनिल चौधरीले सञ्चालन गरेको सो सप्लार्यसले मापदण्ड पूरा नगरेको भेटिएपछि मौज्जाद गरिएको १ सय ९४ कार्टुन सेनिटाइजर बरामद गरेको फार्मेशी निरीक्षक खड्काले जानकारी दिए ।


बरामद गरेको सेनिटाइजरको सेम्पल कलेक्सन गरेर राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षणको लागि पठाइनेछ । त्यसपछि ग्यालेक्सीको गुणस्तर थाहा हुनेछ । गुणस्तरहिन सेनिटाइजर भएको परीक्षणबाट पुष्टि भए विभागले थप कारवाही अगाडि बढाउने जनाएको छ । रिपोर्ट नआएसम्मको लागि सो उद्योगको उत्पादन बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्