झापा, असोज १४ । पछिल्लो समय कोरोना कहरका कारण पालिमा विकास निर्माणका काम बेहालको अवस्थामा रहेका छन् । तर, पालिकाहरु विकास निर्माणमा भन्दा पनि विलासी वस्तु खरिद गर्न लागि परेको पाइएको छ । झापाको बुद्धशान्ति गाउँपालिकाले उपाध्यक्ष मीरा भूर्तेलका लागि भन्दै ७० लाखको गाडी खरिद गरेको छ । जनतालाई प्रत्यक्ष रुपमा विकासको अनुभूति दिलाउन निर्वाचित भएका केही जनप्रतिनिधीहरु सबैभन्दा पहिले आफ्नै सेवा सुविधा थप्नमा तल्लिन भएका हुन् ।


बुद्धशान्ति गाउँपालिकाका केही वडामा अहिले पनि सडक मर्मत भएका छैनन् । केही महिनाअघि सडक मर्मतकै विषयमा वडा नम्बर २ को कार्यालयमा तालाबन्दीसमेत गरिएको थियो । वर्षायाममा शान्तिनगरका अधिकांश सडक अवरुद्ध हुन्छन् । यस्तै होक्से, भोटेटार, जयपुर लगायतका भित्री बाटामा अझै ग्राभेल समेत हुन सकेको छैन । विकास निर्माणको यस्तो अवस्थालाई नजर अन्दाज गर्दै बुद्धशान्ति गाउँपालिकाले एउटा गाडी हुँदाहुँदै करिब ७० लाखको नयाँ गाडी थपेको हो ।
गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आवश्यक भएकैले अर्को गाडी थपेको बताए । बिर्तामोडको सकुशल ट्रेड लिंकबाट खरिद गरिएको सवारी साधनका लागि गाउँसभाबाट ५५ लाख र अध्यक्ष तथा उपाध्यक्ष मातहतमा रहने आन्तरिक कोषबाट १२ लाख थप गरी ६६ लाख ८० हजार रुपैयाँमा गाडी खरिद गर्ने सम्झौता भएको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्