राजगढ , असोज १४ । बाह्रदशी गाउँपालिका वडा नं ५ मा एक साताभित्र अर्को पुलको शिलान्यास भएको छ ।

वडा नं ५ स्थित घाग्रा खोलामा पक्की पुलको शिलान्यास भएको पाँच दिनपछि सोही वडाको अधुवा खोलामा पनि पुल बनिने भएको हो । जसको बुधबार शिलान्यास गरिएको छ । त्यहाँ ७ करोड ७५ लाख ३५ हजार ७३१ रुपैयाँको लागतमा पक्की पुल निर्माण हुन लागेको हो । जसको एक कार्यक्रमका बीच संघीय सांसद राजेन्द्र लिङ्देन र प्रदेश साँसद पूर्णसिंह राजवंशीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । मृतसंजीवनी निर्माण सेवाले पुल निर्माणको ठेक्का पाएको छ । २०७७ जेठ ३२ गते संझौता गरेको ठेकेदार कम्पनीले २०७९ असार २० गते निर्माण सम्पन्न गर्नु पर्ने म्याद रहेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालय भद्रपुरले बजेट उपलब्ध गराएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख रमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद लिङदेन , प्रदेश सांसद राजवंशी , बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी , ५ नं वडाका वडाध्यक्ष भुपेन्द्र कट्वाल लगायतले विकास निर्माणको हिसाबले बाह्रदशी गाउँपालिकाले मुहार फेर्न लागेको धारणा राखेका थिए । उनीहरुले कोरोना कहरले विकास निर्माणको कामलाई छेक्न नसक्ने भन्दै थप विकासका योजनाहर संचालन गरिने जानकारी दिए । सो पुल निर्माण भएपछि बाह्रदशी ५ , बिर्तामोड १० र हल्दीबारी १ का बासिन्दाहरुलाई आवतजावतमा सहज हुने भएको छ । यसअघि असोज ८ गते वडा नं ५ स्थित घाग्रा खोलामा ६ करोड ५९ लाख ३९ हजार ७७५ रुपैयाँको लागतमा बन्ने पुलको शिलान्यास गरिएको थियो । अबको केही महिनापछि बाह्रदशी १ स्थित साधुपर्ति पुलको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको प्रदेश सांसद राजवंशीले जानकारी दिए । त्यस्तै राजगढ जाने काठे पुल भएको ठाउँमा पनि पक्की पुल बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्