भद्रपुर, असोज २० । भौतिक रूपमा विद्यालय सञ्चालन गर्न सरकारले अनुमति नदिइएको अवस्थामा भद्रपुर नगरक्षेत्रका आधा दर्जनबढी विद्यालयहरूले कक्षा सञ्चालन गरिरहेको पाइएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण तीव्र हुँदै गएको भद्रपुर नगरक्षेत्रमा बैकल्पिक शिक्षण विधि छोडेर केही विद्यालयहरूले भौतिक रूपमै कक्षा सञ्चालन गरिरहेको पाइएको हो । यसरी कक्षा सञ्चालन गर्ने विद्यालयहरूमा पुरानो भद्रपुर नगर क्षेत्रमा ३, महेशपुरमा २ र पृथ्वीनगरमा ४ वटा रहेको स्थानीय अभिभावकहरूको भनाइ छ । भौतिक रूपमा कक्षा सञ्चालन गरिरहेका विद्यालयहरूले केहीले विहान र केहीले दिउँसो कक्षा सञ्चालन गरिरहेको जनाइएको छ । सुरक्षा सावधानी समेत नअपनाई पठनपाठन भइरहेको अवस्थाले कोरोना संक्रमण जोखिम बढेको छ ।
शिक्षा विकास समन्वय इकाई झापामा समेत भौतिक रूपमा विद्यालय सञ्चालन गर्न मातहत निकायबाट अनुमति नरहेको जानकारी हुँदाहुँदै सदरमुकाममै सरकारी नीतिविपरित शिक्षण भइरहेको पाइएको छ ।
पछिल्लो शिक्षण निर्देशिका अनुसार वैकल्पिक सिकाइअन्तर्गत अनलाइन् शिक्षण, क्लस्टर शिक्षण गर्न अनुमति दिइएको छ भने प्रविधि र स्थलगत अध्यापनमा पहुँच कम भएका केही विद्यालयहरूले विद्यालयमै विद्यार्थी बोलाएर पढाइरहेको अवस्था छ ।
विद्यालयमा भइरहेको कक्षा सञ्चालन बारेको जिज्ञासामा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सरकारले तय गरेको पछिल्लो शिक्षण निर्देशिकाविपरित कोभिड १९ संक्रमण जोखिम हुने गरी कक्षा सञ्चालन गर्न नपाइने जानकारी दिए । प्रजिअ तिमिल्सिनाले वैकल्पिक शिक्षण सहजीकरण गर्न शिक्षा विकास समन्वय इकाइलाई जिम्मेवारी दिइएको जनाउँदै सरकारी नीतिविपरित जान नपाइने प्रष्ट पारेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्