झापा ,असोज २० । झापामा मंगलबार एकैदिन १९ जनालाई कोरोना संक्रमण देखिएको छ । एक महिला र १८ पुरुषमा संक्रमित हुनेहरु जनप्रतिनिधि , कर्मचारी,कैदीबन्दी, व्यापारीलगायत रहेका छन् ।

भद्रपुर नगरपालिकामा ८ जना , दमक नगरपालिकामा ४ जना , बिर्तामोड नगरपालिकामा ३ जना , हल्दीबारी गाउँपालिकामा दुईजना , बुद्धशान्ति , बाह्रदशी र अर्जुनधारामा एक–एक जना संक्रमित थपिएका हुन् ।
दमकका मेयर ओलीलाई संक्रमण
दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार आएको पिसिआर परीक्षणको रिपोर्टमा नगर प्रमुख ओली र दमक १० का वडा अध्यक्ष बोधराज न्यौपानेमा समेत संक्रमण देखिएको हो । नगर प्रमुख ओलीकी श्रीमती लीला ओलीलाई भने एक दिनअघि नै संक्रमण देखिएको थियोे । ओली दम्पत्तीसहित उनका छोरामा पनि संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।स्वास्थ्य शाखा स्रोतका अनुसार दमकका एक महिलासहित चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । अर्का एकजना वडा नं १ का ५१ वर्षिय पुरुष रहेका छन् । उनले नोवेल मेडिकल हस्पिटल विराटनगरमा परीक्षण गराएका थिए ।
यसैबीच नगरपालिकाका पदाधिकारीमा कोरोनाको संक्रमण देखिएपछि दमक नगरपालिका र सबै वार्ड कार्यालयहरु मंगलबारदेखि असोज २३ गतेसम्मका लागि बन्द गरिएको छ । नगरपालिकाका पदाधिकारीलाई समेत कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिका कार्यालय र वडा कार्यालयहरु चार दिनका लागि बन्द गरिएको नगरपालिकाका उपसचिव दिनेशकुमार न्यौपानेद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ । उता श्रीमतीलाई कोरोना संक्रमण देखिएपछि होम क्वारेन्टाईनमा रहेका गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको नगर प्रमुह साहले जानकारी दिएका छन् ।
कृषि विकास बैंक भद्रपुरका प्रबन्धकसहित चारलाई कोरोना
भद्रपुरमा मंगलवार पाँच कर्मचारीसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार कृषि विकास बैंक भद्रपुरका प्रबन्धकसहित चार जना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा एक महिला र तीन पुरुष कर्मचारी रहेका छन् । कृषि विकास बैंकका ४७, २६, ३८ र ३५ वर्षका कर्मचारीलाई संक्रमण देखिएको स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए । त्यस्तै भद्रपुर भन्सार कार्यालयका कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । भन्सार कार्यालयका ५५ वर्षीय कार्यालय सहयोगीलाई संक्रमण देखिएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन भट्टराईले जानकारी दिए । त्यस्तै भद्रपुर १० नम्बर वडाका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नगरपालिकाले मेची अस्पतालमा गरिएको ९२ जनाको कोरोना परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
बिर्तामोडमा बैंक कर्मचारीसहित तीन संक्रमित
बिर्तामोडमा बंैक कर्मचारीसहित तीनजना संक्रमित भएका छन् । संक्रमित हुने सेन्चुरी बैंकका कर्मचारी रहेका छन् । वडा नं १ निवासी ती बैंक कर्मचारीले आफैले मेची अस्पतालमा गएर परीक्षण गराएका थिए । त्यस्तै त्यही परीक्षण गराएका बिर्तामोड ४ का दुईजना व्यवसायीमा पनि संक्रमण देखिएको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।
कैदीबन्दी पनि संक्रमित
हल्दीबारी गाउँपालिकाका दुईजनामा मंगलबार संक्रमण देखिएको छ । संक्रमितहरु वडा नं २ र ५ का रहेका छन् । वडा नं २ का पुरुष प्रहरी हिरासत र ५ का पुरुष जिल्ला कारागारमा रहेको गाउँपालिकाका फोकल पर्सन पुष्कर निरौलाले बताए । त्यस्तै अर्जुंनधारा नगरपालिका ५ का ३८ वर्षिय पुरुष , बाह्रदशी वडा नं ५ का ४४ वर्षिय पुरुष र बुद्धशान्ति ४ का ६६ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै जिल्लामा संक्रमितहरुको सँख्या ९५४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्