भद्रपुर, असोज २१ । भद्रपुर नगरपालिका वडा नं ८ का एक दुई महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु भएपछि ती शिशुमा संक्रमण पुष्टि भएको हो । मेची प्रादेशिक अस्पताल भद्रपुरमा शिशुको हिजो बेलुका मृत्यु भएको थियो । आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको हो । ती शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि हिजो बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो। स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । परिवारजनले आज बिहान शवको दाहसंस्कार गर्ने तयारी गरेका थिए । तर, नगर स्वास्थ्य शाखाले शिशुको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाएको छ । सेनाले भद्रपुर ७ स्थित देउनीया खोलाको संकटहरेश्वर बिश्रान्ति घाटमा शिशुको शव व्यवस्थापन गरेको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । शिशुको शव नेपाली सेनाद्वारा व्यवस्थापन गराउन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठसहित नगरपालिकाको स्वास्थ्य शाखाका टोली शिशुको घर पुगेको थियो ।
संक्रमित शिशुको शवलाई उनका परिवारका सदस्यसहित छरछिमेकले छोएको जानकारी आएकाले पाँच दिनपछि स्वाब संकलन गरिने फोकल पर्सन भट्टराईले बताए । मृतक शिशुमा संक्रमण पुष्टि भएपछि उनको परिवार र आसपासका छरछिमेकमा त्रास बढेको छ। योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ११ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्