झापा ,असोज २१ । अबैध रुपमा रुख काट्ने सुखानी शहीद स्मृति प्रतिष्ठान अर्जुनधारा ९ ले आफू जोगिनका लागि सम्पूर्ण दोष एकजना कर्मचारीमाथि थोपरेर निश्काषनको कार्वाही गरेको छ । प्रतिष्ठानले कर्मचारी भुवन प्रधानलाई निश्काषण गरेको हो ।

प्रतिष्ठानको बैठकले विगत ७ वर्षदेखि कार्यरत चौथो तहका कर्मचारी भुवनलाई सो कार्वाही गर्ने निर्णय गरेको हो । ‘बैठकले भुवनको बारेमा निर्णय गरेको हो ’ व्यवस्थापक पुष्प तिवारीले भने ,‘ त्यसबारे विस्तृत जानकारी महासचिव हर्कराज राईलाई थाहा छ ।’
कार्वाहीमा परेका कर्मचारी भुवन प्रदेश सांसद बृख प्रधानका छोरा हुन् । घटनामा मुछिने भएपछि भुवनलाई दोष देखाएर अरु पन्छिन लागेका हुन् । घटनामा साँसद प्रधान पनि मुछिएका छन् । आफूलाई प्रतिष्ठानबाट निकाल्ने कुरा मौखिक जानकारी पाएको भुवनले बताए । उनले प्रतिष्ठानका व्यवस्थापक तिवारीको आदेशमा आफूले ती रख काटेको बताउँदै कार्वाही गरेर प्रतिष्ठानले आफूमाथि अन्याय गरेको प्रतिक्रिया दिए । घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा साँचो कुरा बोल्दा त्यसैलाई निहुँ बनाएर प्रतिष्ठान प्रशासनले कार्वाही गरेको आफूले सुनेको उनले बताए । ‘ ममाथि कार्वाही गरेर राम्रो काम गरेन’ उनले भने ,‘ त्यसको विरुद्धमा आवाज उठाउने छु ।’ प्रतिष्ठान स्थापनाताका त्यसको रेखदेखदेखि सम्पूर्ण काम आफूले गरेको उनले बताए । सुखानी शहीद स्मृति प्रतिष्ठानको पार्कमा रहेका तीनवटा सिसौका रुखहरु असोज ५ गते गैरकानुनी रुपमा काटिएका थिए । विना अनुमति गैरकानुनी ढंगले रुख काटिएको घटनाका विषयमा वन कार्यालयले सुखानी शहीद स्मृति प्रतिष्ठानमाथि कार्वाही अगाडि बढाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्