झापा , असोज २१ । झापामा आज कैदीबन्दी , स्वास्थ्यकर्मी , बैंक कर्मचारी लगायत गरी २४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा ५ महिला र १९ पुरुष रहेका छन् ।

बिर्तामोडका चारजना थुनुवालाई कोरोना

इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका ४ जना कैदीबन्दीमा संक्रमण देखिएको छ । त्यसमध्ये एकजनाको ठेगाना बिर्तामोड वडा नं ५ र अन्यको ठेगाना भद्रपुर रहेको जनाइएको छ । बिर्तामोड प्रहरीको हिरासतमा रहेका ४ जना थुनुवाहरुको रिपोर्ट पोजिटिभ आएको एलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । उनले १० जनाको पिसिआर परीक्षण गर्दा त्यति जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।
तीन स्वास्थ्यकर्मी संक्रमित
त्यस्तै जिल्लाका थप तीन जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित हुनेमध्ये एकजना बिएण्डसी हस्पिटलका एकजना नर्स रहेकी छन् । त्यस्तै दुईजना अस्पताल कर्मचारीलाई पनि संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले पाँचैजना स्वास्थ्यकर्मी र कर्मचारी बिर्तामोडमा कार्यरत भएको जनाएपनि बिर्तामोडको स्वास्थ्य शाखाले एकजना मात्र पुष्टि गरेको छ । त्यस्तै एकजना बैंक कर्मचारीलाई पनि संक्रमण पुष्टि भएको छ । आज भद्रपुरमा ९ , बिर्तामोडमा ९, गौरादहमा ३ , कनकाई , कचनकवल र अर्जुनधारामा १–१ जना संक्रमित थपिएका हुन् । आज २४ जना थपिएसँगै जिल्लामा संक्रमितहरुको सँख्या ९७८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्