सहकारी खोल्नु पर्यो भनेर मनमा जोश थियो जागर थियो । सहकारी खोल्न २५ जना स्थानीय व्यक्तिहरु चाहिन्छ भनेर साथीहरु खोज्दै थिएँ । कति साथीहरुले मेरो प्रस्तावलाई स्वीकारेर तुरुन्त नागरिकता र फोटो दिनु भयो भने कति साथीले पत्याउनु भएन । पाँच गाविस कार्यक्षेत्र बनाएर संस्था खोल्नको लागि नागरिकता भेला गर्ने क्रममा ४४ जनाको भेला भइएछ । ४४ हजार शेयर पुँजीबाट संस्था दर्ता भयो ।

संस्था दर्ता भएपनि हामीलाई कसरी संचालन गर्ने भन्ने खासै जानकारी थिएन । तसर्थ त्यसका निम्ति तीन महिनाजति त्यसका संचालन विधिहरु जान्न र बुझ्न साथीहरुसंग सम्पर्कमा रहे । नियामक निकायसंग जान्न र बुझ्न खोजें । सहकारी अभियन्ताहरुको साथले केही जानेपछि २०६७ साल असोज २२ गते औपचारिक रुपमा कार्यालयको उद्घाटन गरेर सहकारी खोलियो । मानिसले इच्छाशक्ति गरेपछि के जान्न सकिदैन र भन्ने ज्वलन्त उदाहरण सहकारी बन्यो । समितिका साथीहरुको साथ कर्मचारीको मेहनत र सदस्यहरुको बिश्वासले सहकारी दिन प्रतिदिन बढदै गएको थियो । एक जना बजार प्रतिनिधि, एक जना टेलर कर्मचारी र एक जना व्यवस्थापकबाट संचालनमा आएको संस्थामा केही समयपछि नै कर्मचारी थप गरियो ।

स्वेच्छिक तथा खुल्ला सदस्यता , सदस्यहरुको आर्थिक सहभागिता , शिक्षा तालिम र सूचना ,समुदायप्रति चासो , सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण , स्वायत्तता र स्वतन्त्रता ,सहकारीहरुबीच पारस्परिक सहयोग । यी सहकारीका सात सिद्धान्तले सहकारीको मूल मर्म दर्साउँदछ । आजको समाज हेर्दा मानिस म र मेरो लागि मात्र भन्ने र सोच्ने बेलामा सहकारी यस्तो क्षेत्र रहेछ । जसले आफ्नो लागि भन्दा अरुका लागि गर्नुपर्ने रहेछ । दैनिकजसो सदस्यहरुसंगको प्रत्यक्ष भेटले सदस्यहरुप्रतिको आफ्नो जिम्मेवारी बढ्दो रहने रहेछ । सामुहिक निर्णय , समुदायमा छलफल र समुदायको हित नै सहकारीको उच्चतम प्रतिफल रहेछ । सहकारी सदस्यहरुको बीचको सहकार्यबाट चल्ने रहेछ । सहकारीको एकमात्र लक्ष्य सदस्यहरुको हित हो ।

एकका लागि सबै, सबैका लागि एक सहकारीको मुल भाव भएको हुँदा सहकारीमा सदस्यहरुले सोही भावअनुरुप अगाडि बढनु पर्ने रहेछ । सीप नहुनेलाई सीपसंग जोड्नु , पुँजी नहुनेलाई पुँजी उपलव्ध गराउनु ,व्यक्तित्व विकास, नेतृत्व विकास सहकारीले सिकाउने रहेछ । हरेक गतिविधि सामुहिक निर्णयबाट हुनेहुँदा समुह सहकार्य नै सहकारीले सिकाउने रहेछ । सहकारीको थालनी गरिरहँदा, सदस्यबीचमा काम गरिरहँदा सय, हजार हँुदै सदस्यको वृद्धि हुँदै जाँदा संस्थामा नेतृत्वले गर्दा एक प्रकारको नेतृत्वको विकास पनि हुने रहेछ । मलाई मासमा बोल्न धेरै अफ्ठ्यारो लागेर आउँथ्यो, माईक देख्दा डर लाग्थ्यो , के बोल्ने होला भनेर शरिर नै काम्थ्यो । तर आज त्यो अवस्था रहेन । समयको अन्तरालसँगैं यसमा कन्फिडेन्स बढ्दै गयो । समुहको नेतृत्व गरिरहँदा कति क्षण विभिन्न अवरोधहरु पनि नआएका हैनन् ।तर, साथीहरुको साथ र हौसलाले ती अवरोधहरुलाई चिर्दै आफ्नो गन्तव्यतिर लम्किई रहे ।

आज मलाई देख्दा शिखर भनेर सम्वोधन गर्ने व्यक्तिहरु पनि पाउँछु । जुन मेरो लागि ठूलो इज्जत रहेको छ । आमसदस्यहरुको रोजाइ शिखर साकोस भइरहँदा म मन, बचन र कर्मले पनि सदस्यहरुको बिश्वास र भरोषालाई कहिलै विचलित हुन दिने छैन । मेरो जीवन नै आमसदस्यहरुको सर्वपरि हितमा रहने प्रण गर्दछु ।

साथीहरु भन्ने गर्नुहुन्थ्यो– दिपेन भीड लिएर हिडेका छौ दुईचार जना भीडमा नकारात्मक सोचका व्यक्तिहरु हुन्छन् नै । त्यस्ता साथीहरु नै हाम्रो सफलताको सिढी हुनुहुन्छ । हामी सचेत रहेर आफ्नो लक्ष्यमा लाग्नु नै उत्तम विकल्प हुन्छ भन्दै मलाई राय सल्लाह दिनु हुन्थ्यो । सहकारीको क्षेत्र भनेको भिन्न रहेछ जहाँ व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ । समाज र समुदायको हित नै सर्वोत्तम विकल्प हुन्छ । मानिस जन्मेपछि उसको पछाडि धेरै जिम्मेवारी रहन्छ । अझ हामी कुनै न कुनै पेशा व्यवसायसंग आवद्घ रहनै पर्ने । नामको पछाडि तपाई के गर्नु हुन्छ भनेर प्रश्न तेर्सिहाल्छ । के, कहाँ के गर्नु हुन्छ भनेर नसोध्ने सायदै कम भेटिन्छन् ।

दश बर्षसम्म बहुराष्ट्रिय कम्पनीमा काम गरे । मेरो जन्म ठाउँ र जन्म गाउँमा म, जागिर छोडेर आउँदा म नयाँ भएको थिएँ । मलाई केही मानिसले मात्र चिन्ने गरेका थिए । मलाई भन्दा बढी मेरो भाइलाई चिन्ने गर्दथे । सबैले मलाई उमेशको दाजु भनेर चिने । मलाई पनि राम्रै लाग्यो भाइको नाम राम्रै थियो । जागिरको क्रममा म बर्षमा ६ दिनमात्र घरमा रहन्थे । त्यसैले पनि मलाई खासै चिन्दैन थिए । भाइको साथी अनि साथीहरुको साथ नै मेरो सहकारीको प्रगतिको सिढी रहयो । जव मैले सहकारीको सुरुवात गरे मेरा स्कुल पढ्दाको साथीहरु बालापनको साथीहरु व्यावसायिक साथीहरु सबैसंग मेरो निरन्तर भेटले थप सम्वन्ध गाढा बन्दै गयो । स्थानीय उद्यमशील युवामा हामीलाई हेरिन थाल्यो । नियामक निकाय , सहकारी संघ , उद्योग बाणिज्य संघ लगायतका संघसंस्थाको पनि हामी अभिन्न अंग बनिसकेका थियौ । बिर्तामोड धेरै विकास भैसकेको रहेछ । नयाँनयाँ अनुहारहरु यहाँ छाईसकेको रहेछ । व्यावसायिक प्रतिष्ठानहरु ठूलाठूला खुलिसकेका थिए ।

शिखर साकोसबाट पचास हजार ऋण माग्ने व्यवसायीहरु पचास लाख माग्न थालिसकेका छन् । प्रत्यक्ष सहकारीसंग आवद्घ रहँदा र व्यवसायी सदस्यहरुको व्यवसाय हेर्दा भोेलिका व्यावसायिक कुल घराना बन्ने व्यवसायीहरु यिनै हुन् भन्ने मलाई लाग्थ्यो । धेरै व्यवसायीहरु शिखरको प्रगतिसंगै उहाँहरुको पनि आर्थिक प्रगति हुँदै थियो । शिखर साकोसको प्रगतिमा ती आमसदस्यहरुको साथ सहयोग रहेको छ । जसले प्रत्यक्ष कारोवार गरिदिनु भयो । अनि बिश्वास र भरोषा शिखरलाई बनाई दिनुभयो । वित्तीय संस्था भनेको बिश्वासमा चल्ने रहेछ अनि जति पुरानो भयो त्यति नै विश्वास बढेर जाँदो रहेछ अनि संस्थामा रहेको पैसा पनि समय बढेसँगै बढेर जाने रहेछ । वित्तीय कारोवार गर्ने संस्था आज राम्रो छ भनेर सधै राम्रो नरहन पनि सक्छ । किनकी तरलता र बजारको आर्थिक गतिविधिले संस्थालाई असर गर्न सक्छ । त्यसैले हरेक दिन संस्थाप्रति सचेत र सुरक्षित कसरी रहन सकिन्छ भनेर चिन्तित रहनु पर्दछ ।

आजबाट शिखर साकोस १० बर्ष पुरा भएको छ । शिखर साकोसमात्र १० बर्ष भएको छैन । मेरो पनि सहकारीमा दश बर्ष पुरा हुँदैछ । सहकारीमा आवद्घ भएर अध्यक्ष भएको पनि मेरो पहिलो अनुभव हो ।
२०६७ सालमा संस्थाको परिकल्पना गर्दा नाम जुराउने, विनियम बनाउने र संस्थामा अध्यक्षको बन्ने भन्ने पनि निकै चर्चा रहेको थियो । त्यो समय मैलै आदरणीय दाजु नरेन्द्र बराललाई अध्यक्ष प्रस्ताव गरेको थिएँ । तर दाजुले उल्टै दिपेन त आफै अध्यक्ष बस् बरु म उपाध्यक्ष बस्छु । किनकी यसमा सम्पूर्ण देन तेरै छ भनेर प्रस्ताव राखेको दिनदेखि म निरन्तर अध्यक्ष रहेको छु । दाजुको साथ सहयोग निरन्तर रह्यो । मेरा स्थापनाकालका केही साथीहरु आज हुनुहुन्न । तर पनि उहाँहरुको योगदानको उच्च सम्मान गर्दछु । आज संस्थालाई हेर्दा कति स्मुथ र कति सिस्टममा चलेको छ भन्ने लाग्छ । तर, यो देन संस्थापकहरुको हो । त्यो बेला समितिका साथीहरुलाई हरेकले मासिक २० बटा राम्रो कारोवार गर्ने सदस्य बनाउनु पर्ने भन्ने थियो । सोहीअनुरुप साथीहरुले सदस्य बनाउनु भएको थियो । न सहकारीको कुनै ज्ञान न कुनै स्कुलमा पढियो । तर, पनि शिखर साकोसलाई समितिका साथीहरुको मेहनतले बिर्तामोडमा अव्वल संस्थामा उभ्याउनु भयो ।

हरेक विहानीसंगै जिम्मेवारी पनि बढिरहेको छ । हिजो ४४ हजारबाट सुरुवात भएको संस्था आज ६० करोडको भएको छ । सदस्यहरुको दिन प्रतिदिनको विश्वासले हामीलाई झन् बढी जिम्मेवार बन्नु पर्ने भएको छ । सदस्यहरुको बिश्वास र भरोषालाई अझ विश्वस्त बनाउदै लानु पर्ने भएको छ । एकदिनको कुरा हो, हामी काठमाण्डौमा क्याम्पस पढ्दाका साथीहरु भेला भएका थियौ । जुन बेला अभाव थियो , हाम्रो जीवनमा दुख थियो, गोजीमा पैसा थिएन , जागिर थिएन । तर पनि हामी दुख गदंै थियौं सोही बेलाका साथीहरु भेला भएर गफ गर्दैगर्दा एक जना साथीले भन्यो– ‘हेर दिपेन जो मान्छेले एउटै व्यवसायमा दश बर्ष बिताउँछ ,उसले काठमाण्डौमा घर बनाउँछ’ भनेर भन्दा सबैले हिसाव गरेका थिए अनि आज सबैको आफ्नो घर काठमाण्डौमा थियो । हेरक क्षेत्रमा निरन्तरता, इमान्दारिता र लगनशीलता भयो भने सफलता प्राप्त गर्न सकिन्छ । त्यो हाम्रो साथीहरुको ठम्याइ थियो ।

आज मलाई खुसी लागेको छ शिखर साकोस पनि १० वर्ष पार गरिरहँदा उसले आफ्नो घर पाएको छ । हामी आफूले पाएकोमा खुसी गछौ । तर, सहकारी भनेको अरुले पाएकोमा खुसी मान्नु पर्छ । दश बर्षमा मैले सहकारीबाट इज्जत पाएँ सम्मान पाएँ । अनि आम सदस्यहरुको बिश्वास पाएको छु । जसलाई मैले मेरो जीवनको कमाइ सम्झन्छु । हरेक सदस्यहरुको दुखमा पुग्ने गरेका छौ । सदस्यहरुको दुःखलाई आफ्नो दुःख सम्झेका छौ । आज मलाई देख्दा शिखर भनेर सम्वोधन गर्ने व्यक्तिहरु पनि पाउँछु । जुन मेरो लागि ठूलो इज्जत रहेको छ । आमसदस्यहरुको रोजाइ शिखर साकोस भइरहँदा म मन, बचन र कर्मले पनि सदस्यहरुको बिश्वास र भरोषालाई कहिलै विचलित हुन दिने छैन । मेरो जीवन नै आमसदस्यहरुको सर्वपरि हितमा रहने प्रण गर्दछु । हिजो म आममानिसका लागि दिपेन थिएँ । तर, आज शिखर साकोसको अध्यक्ष भइरहँदा मेरो काम कर्तव्य र अधिकारबाट सदस्यहरुमा विभेद रहने छैन । एक दशकको मेरो सहकारीप्रतिको भावना र सिकाइ निरन्तर रहने छ । म अझै पनि पूर्ण भएको छैन । मेरो हरेक दिन सिकाइ रहेको छ । बुझाइ रहेको छ । जीवनमा यो दश बर्षमा जे सिके आगामी दिनमा अझ उत्कृष्ठ र अव्वल बन्ने मेरो प्रयास रहने छ ।

अन्तमा ,मेरो यो दश वर्षमा समितिको साथ कर्मचारीको मेहनत र सदस्यहरुको बिश्वास र भरोषा नै मेरो लागि मार्गदर्शक रहने छ । नियामक निकायको निरन्तर साथ सहयोग र छाता संगठनहरुको खवरदारी नै मेरो सिकाइ रहने छ । हालसम्म साथ सहयोग गर्नुहुने मेरा शुभचिन्तक , शुभेच्छुक , पत्रकार साथीहरु तथा मान्यवरहरुमा हार्दिक आभार प्रकट गर्दछु र आगामी दिनमा पनि साथ सहयोगको अपेक्षा गर्दछु ।
जय सहकारी जय शिखर ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्