मनिषा चम्लागाईँ।
झापा, असोज २४ । झापा अर्जुनधारा–६ कि बिना दाहालले सफल महिला उद्यमीको परिचय बनाइसकेकी छन् । तीन वर्षअघि व्यवसाय सुरु गरेकी दाहालले छोटो समयमा नै सफल उद्यमीको परिचय बनाउन सफल भएकी हुन् ।


अर्जुनधारामा एस के डी फुडस् नामक घरेलु उद्योग सञ्चालनमा ल्याएकी दाहालले फापर, कोदो, मकैको चामल, तीलको छोप, सिस्नोको फूल, सिस्नोको पाउडर, साँधेर खाने भटमास, दुधमा खाने बेसार, सुत्केरीले खाने मसला, टिमुरको छोप, तोरीको लेत बिक्री गर्दै आएकी छिन् । लकडाउनमासमेत उनका यी उत्पादनको स्वाद झापालीले लिन पाए । फापर, कोदो, मकै, सिस्नो, तोरी, तिलको खरिद गर्न दाहाल गाउँ–गाउँ पुग्छिन् । केही कच्चापदार्थ बिर्तामोड र केही भारतबाटसमेत खरिद गर्ने गरेकी छन् ।


उद्योग सञ्चालनमा ल्याउनुु पूर्व अगरबत्ती उद्योग सञ्चालन र इन्सुरेन्समा काम गरेकी दाहाल १८ सय रुपैयाँमा व्यवसाय शुरु गरेको स्मरण गर्छिन् । व्यवसायमा सफलता हात पार्नका लागि निरन्तरताको लगाव आवश्यक हुने उनले जनाइन् । ‘मैले १८ सय रुपैयाँबाट शुरु गरेको घरेलु उद्योगबाट आज मासिक ८ लाख रुपैयाँसम्मको खाद्यवस्तु उत्पादन र बिक्री गर्छु’ उनी भन्छिन्, ‘परिश्रम गर्नेको पिठो पनि बिक्री हुने रहेछ, स्वस्थ्य उत्पादन खोज्नेहरु मेरोमा आइपुग्नु हुन्छ ।’


‘तीन वर्षअघि व्यवसाय गर्छु भनेर लागे, धेरै पटक मेरो उत्पादन बजारबाट फर्कियो, कति पटक खस्रो चामल भनेर त कति पटक कोदो नफली पिसाएर’ शुरुवाती अवस्था सम्झदैँ दाहालले भनिन्, ‘यसरी सुरु गरेको व्यवसाय, अहिले बजारको माग अनुसार २५ प्रतिशत मात्र उत्पादन पु¥याउँदै आइरहेकी छु ।’ कोरोना महामारी शुरु भएसँगै आफ्नो व्यवसाय अझ फस्टाएको दाहालले बताइन् । ‘कोरोनाले नेपालमा नै उत्पादन भएका वस्तु उपभोग गर्नुपर्छ भन्ने चेतना बढायो’ उनले भनिन्, ‘चैतदेखि यता बजारमा आफ्नो उत्पादनको माग अझ बढ्यो ।’ खाद्यवस्तु भएकाले कहिले पनि बजार अभाव झेल्नुनपरेको उनी सुनाउँछिन् । खाद्यवस्तुको व्यवसाय गरे घाटा बेहोर्नु नपर्ने उनको अनुभव छ ।


बिर्तामोडका अधिकांश डिपार्टमेन्ट स्टोरमा दाहालको उत्पादन बिक्री हुन्छ । यस वर्षदेखि काठमाडौँका विभिन्न पसलमासमेत आफ्नो उत्पादन जान थालेको दाहालले सुनाइन् । प्रत्येक महिना एउटा आइटम ३३ सय केजी बिक्री गर्ने गरेको उनले सुनाइन् । दाहालले स्थानीय ५ जना महिलालाईसमेत रोजगारी दिएकी छन् । दाहाल आफ्नो अटिजम (८ बर्षिय) भएका छोरालाई साथमा राखेर व्यवसाय गर्दै आइरहेकी छन् । उद्योगलाई अझ विस्तार गर्दै लैजाने लक्ष्य राखेकी उनी लगानी गर्ने पूँजि भने अभाव रहेको बताउँछिन् । सरकारले ऋण दिए व्यवसाय अझ विस्तार गर्ने उनको लक्ष्य छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्