भद्रपुर,असोज २४ । झापाको भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको २१ औं परिषद भेला शनिबार शुरु भएको छ ।

कोरोना भाइरसको जोखिमका कारण तीन चरणमा गर्न लागिएको परिषद भेला स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै समूहका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा स्थानीय मुना भवनमा सञ्चालन भएको हो । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गमलाको फूलमा पानी हालेर भेलाको उद्घाटन गरेका थिए ।समूहकी सचिव सकुन्तला पोखरेलले सञ्चालन गरेको संक्षिप्त उद्घाटन समारोहमा अध्यक्ष पोखरेलले समूहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार समूहले आर्थिक वर्ष ०७६÷०७७ मा दुई करोड ३५ लाख दुई हजार १४६ रुपेयाँ आम्दानी गरेको छ । काठ बिक्री तथा लिलामीबाट सो आम्दानी भएको हो । समूहले सो वर्ष तीन करोड पाँच लाख पाँच हजार ६४० रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा कोभिड–१९ लगायतका कारणले लक्ष्य हासिल गर्न नसकिएको अध्यक्ष पोखरेलले बताए ।
झण्डै २२ सय वर्ष पुरानो मानिएको ऐतिहासिक चन्द्रगढसमेत रहेको चन्द्रगढी समुदायिक वनले जिल्लामा पहिलोपटक वैज्ञानिक वन व्यवस्थापनको कार्य गरेको थियो । प्रतिवेदन अनुसार समूहले अति विपन्न उपभोक्ताहरुलाई अत्यन्त सहुलियतमा काठ उपलब्ध गराउँदै आएको छ भने निःशुल्क रुपमा खाट वितरण गरेको छ । त्यस्तै, स्थानीय विकास–निर्माणका काममा पनि वनले सहयोग पुर्याउँदै आएको छ । सभाको पहिलो दिन साविक चन्द्रगढी गाविसको वडा नं २ र ६ का उपभोक्ताको सहभागिता रहेको थियो भने आइतबार ४ र ९ र सोमबार ३ र ५ का उपभोक्ताको सहभागिता रहने समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेस ३ नं क्षेत्रयि सभापति गणेश पोखरेल, राप्रपाका बाबुराम पराजुली, समूहका पूर्वअध्यक्ष दुर्गाप्रसाद भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्