रामप्रसाद ढुंगेल ,
युएई, असोज २५ । नेपाल फर्किने सिलसिलामा जरिवाना तिर्न नसकेका १७ नेपाली कामदारहरुको करिब १९ लाख रुपैयाँ नेपाली दूतावास अबुधाबीको पहलमा मिनाहा भएको छ ।

दुबईको फ्लेक्स मेनेजमेन्ट कम्पनीमा कार्यरत नेपालीहरुको गत जुलाई १२ तारिखदेखि बिना भिसा युएईमै बस्न बाध्य भएकाले ओभरस्टे स्वरुप युएई दिराम ६० हजार तिर्न नसकेका कारण उनीहरू एयरपोर्टबाट फर्किएका थिए ।
नेपाली दूतावास अबुधाबीले दुबई इमिग्रेसनसँग समन्वय गरेर उक्त जरिवाना माफी गरिदिएको र यस कार्यमा नेपाली दूतावास अबुधाबीका जनसम्पर्क अधिकारी मोहम्मद इर्फानले अतुलनीय योगदान गरेको नेपाली दूतावास अबुधाबीकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिइन् ।

काउन्सिलर थापाका अनुसार उक्त कम्पनीमा कोभिड–१९ का कारण नियमित काम चल्न नसकेर ३ सय ५८ जना नेपाली रोजगारविहीन भएको र दूतावास साथै सामाजिक संघसंस्थाको सहयोगमा उनीहरूलाई खाना तथा अन्य सहयोग उपलब्ध गराउदै आइएको थियो । उनका अनुसार दूतावासको पहलमा सम्बन्धित कम्पनीबाट सबैलाई हवाई टिकट उपलब्ध गराइएको हो भने दूतावास र नेपाली समाज युएईको पहलमा एस्टर क्लिनिकबाट १७ जना नेपाली कामदारहरुको निःशुल्क पिसिआर गराइएको छ । पिसिआर गराउन व्यवस्थापनको महत्वपूर्ण काममा नेपाली समाज युएईका महासचिव वेदप्रसाद अर्यालले योगदान गरेको काउन्सिलर थापाले बताइन् ।
उनीहरुलाई शुरुमा एनआरएनले खान र बस्नको व्यवस्थापन गरेको थियो भने लामो समयसम्म रेखदेख गर्न नसक्ने भन्दै एनआरएनए युएई पछि हटेको पीडित नेपाली कामदारहरुले सार्वजनिक रूपमा बोल्न थालेका थिए ।

पछिल्लो पटक पीडितहरु आक्रोशित बन्दै जाँदा परिस्थिति गम्भीर हुन लागेको अवस्थामा नेपाली दूतावास अबुधाबीले विषयवस्तुलाई टेकओभर गरेर पीडित नेपालीहरुको पक्षमा सकारात्मक काम गरेको पत्रकार मेघराज सापकोटाले प्रतिक्रिया दिएका छन् । उनीहरू अक्टोबर ११, आइतबार नेपाल एयरलाइन्सको जहाजबाट नेपाल फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्