झापा , असोज २८ । जनप्रतिनिधि ,कैदी,स्वास्थ्यकर्मी , कर्मचारीलगायत गरी पछिल्लो २४ घण्टामा झापाका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापाका ८ वटा पालिकामा संक्रमण पुष्टि भएको हो ।झापाका सात नगरपालिका र एक गाउँपालिकामा १० महिलासहित ४१ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी भद्रपुरमा १४ जना रहेका छन् । भद्रपुरमा १३ पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यसमध्ये भद्रपुरको झापा कारागारमा एक महिला र ८ पुरुष गरी ९ जना कैदीमा संक्रमण देखिएको नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले बताए । त्यस्तै मोरङ ठेगाना भएका एक स्वास्थ्यकर्मी र अन्य ३ स्थानीयलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै, मेचीनगर नगरपालिकामा नगर प्रमुख विमल आचार्यसहित ७ जना संक्रमित भएका छन् । त्यसमा दुईजना स्वास्थ्यकर्मी रहेका छन् । त्यसैगरी बिर्तामोड नगरपालिकामा २ जना कर्मचारीसहित ६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ३ जना स्वास्थ्यकर्मी रहेका छन् । उनीहरु सबै पुरुष हुन् । त्यस्तै दमक नगरपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ । २ महिला र २ पुरुष संक्रमित सबै स्थानीय हुन् ।त्यस्तै, अर्जुनधारा, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा ३–३ जना संक्रमित भएका छन् । अर्जुनधारा ६ का २ महिला र १ पुरुष छन् । कनकाईका १ महिला र २ पुरुष रहेका छन् भने बुद्धशान्तिमा २ महिला र १ पुरुष छन् । कनकाईका एकजना संक्रमित शिक्षक हुन् । शिक्षक र एकजना स्थानीय वडा नं ३ का र अर्का स्थानीय वडा नं ९ निवासी भएको कनकाई नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । त्यस्तै, गौरादह नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।योसँगै झापामा कुल संक्रमितको संख्या ११ सय ६७ पुगेको छ । जसमा ९११ जना कोरोनालाई जितेका छन् । सक्रिय संक्रमितको संख्या २४४ रहँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्