बिर्तामोड , असोज २९ । बिर्तामोड नगरपालिकाको वडा नं ३ स्थित आदर्श चौकमा सार्वजनिक धारा जडान गरिएको छ ।

शहीद चन्द्र मार्ग हुँदै हल्दीबारी , जलथल जाने यात्रीहरुको सुविधाका लागि आदर्श चौकमा सार्वजनिक खानेपानीको व्यवस्था गरिएको हो । कुल ५५ हजार ७ सय रुपैयाँको लागतमा सो सार्वजनिक धारा निर्माण गरिएको आदर्श चौक सार्वजनिक धारा निर्माण समितिका अध्यक्ष युवराज रोक्काले बताए । त्यसका लागि बिर्तामोड नगरपालिकाको ३ नं वडा कार्यालयले ४२ हजार रुपैयाँ दिएको र अन्य १७ हजार रुपैयाँ श्रमदानबाट उठाएर खर्च गरिएको उनले जानकारी दिए । बिहीबार सो धाराको बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला र स्थानीय समाजसेवी कुष्णबहादुर दाहालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष रोक्काले धारा जडान गर्दा भएको खर्चको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा आदर्श टोल विकास संस्थाका अध्यक्ष कुमार दाहाल , आदर्श नव युवा क्लवका अध्यक्ष भुपाल दाहाल , बिर्ता प्रहरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष केशव पाठक , शुभलक्ष्मी टोल विकास संस्थाका कुमार बुढाथोकी , स्थानीय समाजसेवीहरु काजी बुढाथोकी , देवीप्रसाद चांैलागाई , नरप्रसाद भट्टराई , नारायण भट्टराई, गीतादेवी बस्नेत , कमला गुरुङलगायतको उपस्थिति रहेको थियो । यसअघि स्थानीयकै अग्रसरतामा जनश्रमदानबाट त्यहाँ यात्रु प्रतिक्षालय निर्माण गरिएको छ । अब आदर्श चौकमा सय वाटको सडक बत्ती राख्ने योजना रहेको रोक्काले बताए । कार्यक्रमको संचालन रमेश डाँगीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्