दमक,कार्तिक १ । झापाको दमकमा १२ दिन अगाडी लिइएको स्वाब परीक्षणको रिपोर्ट अझैसम्म नआउँदा जोखिम बढ्दै गएको छ ।

रिपोर्ट समयमै नआउँदा स्वाब परीक्षणका लागि दिइएको सम्भावित संक्रमितहरु समुदायसम्म पुगेर थप जोखिम वनाउने अवस्था सृजना हुँदै आएको छ । यसले दमकमा संक्रमण थप फैलन सक्ने खतरा बढेको छ ।
दमकमा असोज २०, २१ र २२ गते नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीसहित केही शंकास्पद संक्रमितको परीक्षणका लागि ३ सय ५० बढी स्वाब मेची अस्पतालको कोटिहोमस्थित प्रयोगशालामा पु¥याइएको थियो । तर त्यहाँको पिसिआर मेसिनका लागि आवश्यकीय रिएजेन्ट सकिएपछि दमकको रिपोर्ट आंशिक मात्रै आउने गरेको छ ।
दमकमा अहिले बैँक तथा वित्तीय संस्थाका बढी कर्मचारीका कारण जोखिम बढ्दै गएको छ । नजिकिएको दशैतिहार जस्ता चाडपर्वको समयमा बैँक भीड हुने र कन्ट्याक्ट ट्रेसिङमा परेको कर्मचारी कार्यालयमा आउँदा समुदायमा संक्रमणको उच्च जोखिम बढेको हो ।
शनिबार आएको रिपोर्ट अनुसार संक्रमित भनिएका एक निर्माण व्यवसायी शुक्रबारसम्म समुदायमै थिए । यस्तै शनिबार संक्रमण पुष्टि भएका एक सहकारीका कर्मचारी शुक्रबारसम्म कार्यालयमै थिए । दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार पिसिआर मेसिनमा आएको समस्याका कारण दमकको रिपोर्टमा ढिलाई भएको हो । तर पिसिआर परीक्षणमा दिएका शंकास्पद संक्रमितहरु आइसोलेसनमा नबस्दा थप जोखिम थपिदै गएको उनले बताए । उनले भने ,–‘ यसले अवस्था थप भयावह आउन सक्छ ।’
दमकमा मात्रै निजी ल्याब मार्फत परीक्षण गरिएका ठूलो संख्यामा संक्रमित थपिएका छन् । तर त्यो रिपोर्ट भने दमक नगरपालिकाले निकालेको तथ्यांकमा समेटिएको छैन । भट्टराईका अनुसार सामाजिक विकास मन्त्रालय हुँदै स्वास्थ्य कार्यालयले स्थानीय तहलाई बाहिर पिसिआर परीक्षण गरेका संक्रमितको जानकारी गराउँदै आएको छ । तर विराट मेडिकल कलेजमा परीक्षण गरि संक्रमण पुष्टि भएका ती रिपोर्टहरु दमक नगरपालिकामा अझै प्राप्त हुन नसकेको उनले बताए । स्रोतका अनुसार दमकबाट २७, २८ र २९ गते संकलन गरिएका ९९ जना मध्ये ५० जनामा संक्रमण पुष्टि भएको छ । ती सबैको निजी खर्चमा बिराट मेडिकल कलेजको ल्याबमा परीक्षण गरिएको हो ।
यसअघि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित तीन जना जनप्रतिनिधिमा संक्रमण देखिएपछि उनीहरु हाल उपचाररत छन् । ओलीसहित उनका श्रीमती लिला र छोरा अनिलमा संक्रमण देखिएको छ । ओली दम्पत्ती विराटनगरस्थित अस्पतालमा उपचारत छन् ।
उनीहरुसंगै दमक १ का वडाध्यक्ष ताराप्रसाद अधिकारी ,दमक १० का वडाध्यक्ष बोधराज न्यौपाने घरको आइसोलेसनमा उपचाररत छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सुधार हुँदैआएको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै, दमकमा हालसम्म संक्रमणवाट १ महिलासहित ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्