मनिषा चम्लागाईँ । झापा, कात्तिक ४ ।

दशैंमा फूलपातीदेखि सामान्तय देशैभर मासुको खपत बढ्छ । गत वर्ष झापामा खसी अभावको कारण उपभोत्ताले मंहगो मूल्यमा मासु खरिद गर्नुप¥र्यो । त्यस्तै, व्यापारीले आवश्यक मात्रमा खसी किन्न पाएनन् ।

यस वर्ष भने झापामा खसी अभाव नभएपनि मासुको माग भने गत वर्षको तुलनामा घटेको छ । झापाको अर्जुनधारा नगरपालिका –६का टिकाराम थापाको फ्रेस हाउसमा गत वर्ष फूलपातीको दुई दिन अघिसम्म २ सय किलो मासुको ‘अर्डर’ आइसकेको थियो । यस वर्ष ७० किलो मासुको अर्डर आएको थापाले बताए । ‘माल्दाई फ्रेस हाउस’ सञ्चालनमा ल्याएका थापाले गत वर्षको दशैंमा १ सय ७३ वटा खसी काटेका थिए । फूलपातीको दिन मात्र ५ लाख मूल्य बराबरको मासु बिक्री गरेको उनले बताए ।

यस वर्ष भने दशैं अवधिभर १ सय वटा मात्र खसी काट्ने योजना रहेको उनी बताउँछन् । “पोहोरको दशैंमा मासुको मूल्य ह्वात्तै बढेको भए पनि माग अत्याधिक थियो, यो वर्ष माग नै छैन” थापाले भने, “कोरोना महामारीले मासु खपत घटेको हो ।” थापा झापाका पुराना तथा ठूला मासु व्यापारी हुन् । उनले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलामबाट खसी खरिद गर्ने गरेका छन् ।

गत वर्ष काठमाडौँका व्यापारीले महंगो मूल्यमा खसी किनेकाले आफूहरुले महंगो मूल्य हालेर खसी किन्नै नसकेको बताउने व्यापारी यस वर्ष मासुको माग नै नभएको गुनासो गर्छन् । यस वर्ष कोरोना कहरको कारण काठमाडौँका व्यापारीले खसी खरिद नगरेकाले मासु पर्याप्त भएको हो । यस वर्ष कोरोना कहरका कारण चैत्र ११ गतेदेखि लकडाउन भयो । ५ महिना लामो लकडाउनका कारण पहाडी क्षेत्र र गाउँबाट शहरसम्म व्यापारीले खसी ल्याउन सकेनन् । गाउँमा रहेका खसी एकै पटक आएका कारण पनि यो वर्ष खसी अभाव नहुने देखिएको छ ।

गत दशैंमा ७० वटा खसीको मासु बेचेका बिर्तामोडका राजु भट्टराई यो वर्ष मासुको माग नै नभएको बताउँछन् । “कोरोनाको कारण मासुको माग घटेको हो” उनले भने “यो वर्ष मासु बेच्न, व्यापार गर्न सकिएला जस्तो छैन ।” गत वर्ष पूर्वी पहाडबाट झापा ल्याइएका ८० प्रतिशत खसी काठमाडौँका व्यापारीले किनेको बिर्तामोड कृषिथोक बजारका मासु व्यापारी मोहमद अस्गर शेखले बताए । झापाको दमक, शनिश्चरे, धुलाबारी, सुरुङ्गा, डाँगीबारी लगायतका बजारमा पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलामबाट खसी बिक्रीका लागि ल्याइन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्